• जीवनशैली | Jiwanshaili
  • इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी


    नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् ।

    दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्लो तलाबाट छिरेको हुनसक्ने महानगरी प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । माथिल्लो तलाको ग्रील फोरेर तल्लो तलामा झरी मूर्ति चोरी गरिएको घटनाका विषयमा थप अनुसन्धान भइरहेको वृत्तका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए।

    मन्दिरमा रहेका सुन एवं चाँदीका माला भने त्यहीँ भेटिएको उनले बताए । अहिलेसमेत तीन पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् । पहिलो पटक चोरी हँुदा चोर समातिएको थियो । दोस्रो पटक मूर्ति नभेटिएपछि नयाँ मूर्ति बनाएर राखिएको थियो । त्यसबेला मूर्तिसँगै मन्दिरका दुई टुँडाल पनि चोरी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    भक्त वाइके पाण्डे र सूर्यमान श्रेष्ठले इचङ्गुनारायण मूर्तिको वरिपरी राख्ने गरी करीब आठ मूर्ति चढाउनुभएको थियो । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिर भए पनि सुरक्षाको व्यवस्था हुन नसक्दा पटकपटक चोरी हुने गरेको स्थानीयवासी बताउँछन् ।

    काठमाडौँ उपत्यकाका चार नारायणमध्येको कान्छो नारायणका रुपमा पूजिने इचङ्गुनारायणमा हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका चार महिनामा पनि मन्दिरमा धेरै भक्तजन आउने गरेकामा गत वर्ष र यसवर्ष भने कोरोना महामारीका कारण केही स्थानीय भक्तजनमात्र आउने गरेका छन् । महामारीका बीच पनि नित्य पूजा आराधना भने जारी रहेको पूजारी राजोपाध्यायले सुनाए।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस