छ महिनासम्म शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्ने
आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिनुभएका छन् । बच्चालाई अन्य रोगबाट बचाउन जन्मेदेखि कम्तीमा छ महिना आमाको दूधमात्र खुवाउनुपर्ने विज्ञहरुले बताएका छन् । आमाको दूध नै बालबालिकाका लागि पहिलो खोप भएकाले जन्मेदेखि छ महिनासम्म अन्य कुनै खाद्य पदार्थ नखुवाई आमाको दूधमात्र खुवाउनुपर्ने हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पोखरेलले आमाको दूधमा जस्तो अन्यमा पोषिलो पदार्थ नभएकाले कम्तीमा छ महिनासम्म आमाको दूध खुवाउनुपर्ने बताए । “छ महिनापछि भने अन्य पोषिलो खाद्य पदार्थसँगै दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्दछ”, उनले भने, “यही दुई/तीन महिनामा नै अन्य कुरा खुवाउनथाल्यो भने बच्चाको आन्द्रामा केही रोग देखा पर्न थाल्दछन् ।”
शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा झनै पोषिलो हुने बताइएको छ । आमाको दूध बच्चाका लगि अमृत समान भएकाले शिशु जन्मेको एक घण्टाभित्र नै स्तनपान गराउनु आवश्यक रहेको उनले बताए । यही साउन १७ देखि २३ गतेसम्म ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । सप्ताह कार्यक्रममा स्तनपानको महत्वबारे आमाहरूलाई जानकारी गराइँदै आएको छ ।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले शिशु जन्मिनेबित्तिकै दूध खुवाउनुपर्ने बताउनुभयो । उहाँले आमाको दूधबाहेक अन्य खानेकुरा शिशुका लागि पोषिलो नहुने भएकाले बच्चालाई निरन्तर दुई वर्षसम्म स्तनपान गराउनुपर्ने जानकारी दिनुभयो । “शिशु जन्मेपछि छ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक आहार आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ”, उनले भने, “बच्चा जन्मेको छ महिना पूरा भएपछि पोषिलो थप खानाका साथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिइनुपर्दछ ।”
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने सङ्ख्या ६६ प्रतिशत, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउने ८९ प्रतिशत छ । यसैगरी जन्मनासाथ स्तनपान गराउनुअघि १० नवजात शिशुमध्ये तीन नवजात शिशुलाई घ्यू, मह, चिनी आदि चटाउने गरेको पाइएको विभागको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउने ८० प्रतिशत छ । शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको सङ्ख्या घटेर ७२ प्रतिशत पुगेको छ । उहाँले नेपालमा शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने सङ्ख्या एक प्रतिशत मात्र रहेको बताए ।
पोषण शाखा प्रमुख पराजुलीले शिशुलाई स्तनपान गराउन सार्वजनिक ठाउँमा स्तनपान कक्ष निर्माणलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार ३०० स्थानीय तहले स्तनपान केन्द्र स्थापना गरिसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस