• जीवनशैली | Jiwanshaili
  • देवकोटाको घर भत्काइएको भन्दै चौतर्फी विरोध


    रेट्रोफेटिङको विकल्प हुँदाहुँदै महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोमा सम्पदाप्रेमी तथा लेखकहरूले नेपाल प्रज्ञा प्रतिष्ठानको कदमप्रति आपत्ति जनाएका छन् ।

    पुरानै घरलाई संरक्षण गरेर संग्रहालय बनाउनुपर्नेमा भत्काएर गलत गरेको भन्दै सामाजिक सञ्जालमा अहिले विरोध गरिएको छ ।

    आख्यानकार नयनराज पाण्डेले पनि प्रतिष्ठानको निर्णय भ्रष्ट, मुर्खतापूर्ण र बहुलठ्ठी भन्दै असन्तुष्टि जनाएका छन् । पाण्डे लेख्छन्-

    ‘हुन त नेपालमा प्रज्ञा प्रतिष्ठानका जागिरे प्राज्ञहरूसँग महाकवि देवकोटाको मूल घर भत्काएर नयाँ संरचना निर्माण गर्नुका अनेक तर्क होलान्, तर यो भ्रष्ट, मुर्खतापूर्ण र बहुलठ्ठी निर्णय हो । यस्तो दरिद्र सोचको निन्दा गर्छु ।’

    यता कवि रमेश क्षितिजले पनि घर भत्काइएको कुरामा सहमत हुन नसकेको तर्क राखेका छन् । उनी लेख्छन्- हजार तर्क निकालिए पनि यो कार्यसँग सहमत हुन सकिन्न । सगरमाथा चढ्न कठिन भयो, टाढा भयो भनेर यतैतिर कृत्रिम हिमाल बनाए जस्तै हो यो कदम ।

    यता संग्रहालय बनाउने जिम्मा पाएको नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट सदस्य सचिव डा. जगतप्रसाद उपाध्याय रेट्रोफिटिङबाट जोगाउन नसकिने भएकाले भत्काइएको बताउँदै आएका छन् ।

    उनले भन्छन्, ‘प्राविधिकहरूको परामर्शमार्फत भत्काएर नयाँ बनाउन लागेका हौँ। सरकारको स्वीकृतिमै यो काम भइरहेको छ।’

    काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा सरकारले २ करोड ५० लाखमा किनेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको थियो

    देवकोटाको तीनतले घर २०७२ को भूकम्पअघि ।

    नयाँ संग्रहालयको भवनको पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्री राखिने छ । यस्तै उनले सुत्नका लागि प्रयोग गरेको पलङ, लगाएका कपडा, प्रयोग गरेका भाँडाकुँडा, औजार पनि त्यही तलामा हुनेछन् ।

    दोस्रो तलामा देवकोटाले लेखेका सबै सामग्री रहनेछन् भने प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपी पनि त्यहाँ राखिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस