वन अतिक्रमण घटना सार्वजनिक
महोत्तरीको बर्दिवासमा रम्तेलडाँडा वन अतिक्रमणको एक वर्ष ननाघ्दै अर्को अतिक्रमणको घटना सार्वजनिक भएको छ ।
पछिल्लो पटक बर्दिबास–१ र ३ मा पर्ने चिहानडाँडा सामुदायिक वनको पानीखोल्सीको मुहान नै थुनेर वन अतिक्रमण भएको घटना सार्वजनिक भएको हो । बर्दिबास–३ का बासिन्दा हरि बस्नेतले वन क्षेत्रभित्रको जरुवा पानीको मुहान रहेको पानी खोल्सीको करिब दुई कठ्ठा जग्गा अतिक्रमण गरेको बताइएको छ ।
सवडिभिजन वन कार्यालय बर्दिवास, चिहानडाँडा सामुदायिक वन र बर्दिवास नगरपालिकाका पदाधिकारी तथा प्रतिनिधिले आजै अतिक्रमित क्षेत्रको अनुगमन गरी अतिक्रमण हटाएका छन् । “बस्नेतले पानीखोल्सीको मुहान नै थुनेर करिब दुई कठ्ठा वनक्षेत्रको जग्गा बिराएर खेत बनाएका रहेछन्” चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले भने, “हामीले आज सवडिभिजन वन कार्यालय, नगरकार्यपालिका र सामुदायिक वन उपभोक्ता समितिका तर्फबाट अनुगमन गरेर अतिक्रमण हटाएका छौँ ।” अब समितिका आम उपभोक्ताको भेलाबाट अतिक्रमण गर्ने बस्नेतविरुद्ध कार्वाही थालिने न्यौपानेको भनाइ छ ।
नगरक्षेत्रमा वन र अन्य सार्वजनिक जग्गा निकै हड्पिएको भएपनि यसको खोजीनीतिमा सम्वद्ध नगरपालिका र वनसम्वद्ध कार्यालयले चासो नदिएका यस भेगका सर्वसाधारण बताउँछन् । भर्खरै विघटित आयोगले अन्तिम पटकका लागि भन्दै १० वर्षदेखि जोतखन र घर बनाइ बसेकालाई जग्गाधनी प्रमाणपुर्जा दिने नीति सार्वजनिक गरेपछि बर्दिबास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रमै सात हेक्टरभन्दा बढी जग्गा अतिक्रमण भएको छ । वनक्षेत्र उजाडेर जग्गा हड्पिनेमा राजनीतिक दलका उपल्लो तहका नेता, साँसद, उच्चपदस्थ कर्मचारी र टाठाबाठा भूमाफियाहरु रहेकाले वनसम्वद्ध कार्यालयले यसको खोजीनीति नगरेको बर्दिबास–१४ का सामाजिक कार्यकर्ता हरि दाहाले बताए ।
बर्दिवास–१ मा गतवर्ष मात्रै रम्तेलडाँडा सामुदायिक वनको करिब पाँच हेक्टर जग्गाको वन फाँडेर अतिक्रमण भएको थियो । सो घटनाको बर्दिवासवासीले चर्को विरोध गरेर दिनहुँ वन अतिक्रमण विरुद्ध प्रदर्शन गरेपछि अतिक्रमणकारी विरुद्ध मुद्दा चलेको थियो तर सो मुद्दाका प्रतिवादी सामान्य रकम धरौटी राखेर फर्केका छन् । अतिक्रमण विरुद्ध फितलो कारवाहीले भूमाफियाको मनोवल नतोडिएको यहाँका सर्वसाधारण बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस