दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्र्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भइका थिए ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।
धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ । यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने/नदिनेबारे जवाफ पठाएको छैन । स्वदेशी भू–भागबाट ड्रोन प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ ।
सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिए ।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट रहनुभएको छ । छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस