• जीवनशैली | Jiwanshaili
  • जमराको जुसः स्वास्थ्यका लागि कति लाभदायक ?


    नेपाली सनातन धर्मावलम्बीहरू आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा घटस्थापना गरी नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। घटस्थापना गरिएको ठाउँमा जौ वा गहुँलगायत अन्य अन्न रोप्ने वा छर्ने परम्परा छ। त्यही जमरा विजयादशीको दिन नवदुर्गाको प्रसाद टीकासहित शिरमा लगाउने चलन छ।

    वैदिक ग्रन्थहरूमा रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने ओज वस्तुको रूपमा जौको महत्त्व बताइएको छ। श्रीमद्भागवत महापुराणमा वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंग आउँछ।

    दशैँमा शिरमा लगाइने जमरा आजभोलि खानका लागि प्रयोग हुन थालेको छ। नौ दिनसम्म घाम नदेखाई राखिएको जमरा स्वास्थ्यका लागि लाभदायक हुने पुष्टि भएको छ। अचेल यसको जुसको व्यापार समेत भइरहेको छ।

    हरियो जमरा ९ह्विट ग्रास० मा भारत र अमेरिकालगयातका देशमा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता प्रकाशित छन्। अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो हुन्छ।

    पहेँलो जमरामा अनुसन्धान हुनु जरुरी छ। हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ। किनकी यसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी हुन्छ।

    हरियो जमराको जुसमा प्रशस्त क्लोरोफिल हुने हुँदा यसमा एन्टिअक्सिडेनट गुण हुन्छ। जसले कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न सघाउँछ।

    हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्रायस्जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ। यसका अलवा जुस प्रोटिन र एमिनो एसिडले भरिपूर्ण हुन्छ।

    शरीरबाट विषाक्त पदार्थहरू हटाउन, रगतमा चिनीको सन्तुलन सुधार, दाँतको क्षति रोकथाम, स्वस्थ कपाल कायम राख्न, पाचन सहायता गर्ने, र उच्च रक्तचापको स्तर घटाउन पनि हरिया जमराका जुस लाभदायक हुन्छ।

    जुसको नियमित सेवन क्यान्सर हुनबाट रोक्ने, भइसकेको क्यान्सरलाई फैलिनलाई रोक्ने र क्यान्सरका बिरामीलाई केमोथेरापी गर्दा हुने समस्यालाई पनि रोक्छ। तर क्यान्सर नै सञ्चो भएको प्रमाण चाहिँ छैन।

    जमराको जुसले कलेजोको सुरक्षा गर्छ। कलेजोमा अरु विषालु रसायनले गरेको क्षतिलाई ठीक गर्छ। जुस, मुटुको सुरक्षा गर्न र क्लोस्टोरललाई घटाउन उपयुक्त हुनुका साथै रक्तनलीमा जमेको बोसो हटाउँछ।

    थालसिमिया भएका बिरामीहरूलाई जुस निकै नै फाइदाजनक हुन्छ। यसले मधुमेह हुन पनि रोक्छ। जमराको लेप लगाउनले बाथको दुखाइमा राहत मिल्छ।

    हरियो जुसले शरीर सुनिएको, ज्वरो आएको, घाउ खटिरालाई ठीक गर्छ, जमराको लेपले छालालाई हानिकारक किरणबाट जोगाउँछ। छाला मुलायम र चम्किलो हुन्छ। मिर्गौलाको पत्थरी, पिसाबसम्बन्धी समस्यामा हटाउन यो उपयोगी हुन्छ। तौल घटाउँछ र पाचन प्रणालीबाट विकार सफा गर्छ। शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।


    क्याटेगोरी : हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस


    थप समाचार