• जीवनशैली | Jiwanshaili
  • कमजोर छैनन् वैदेशिक रोजगारीका महिला


    ०००

    नेपालीहरू वैदेशिक रोजगारीमा जान थालेको एक शताब्दीभन्दा बढी भइसकेको छ । सुरूमा विदेशी सेनामा भर्ना हुन जाने नेपाली त्यसपछि भारतका विभिन्न सहर र तिब्बतको ल्हासामा जान थाले ।

    पहिले पुरूषहरू मात्रै वैदेशिक रोजगारीमा जाने गर्दथे भने पछिल्लो समय महिलाहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइन्छ । महिलाहरू आफैं वैदेशिक रोजगारीमा जाँदा होस् या श्रीमान विदेश गएर श्रीमती घर बस्दा यस उपार्जनमा जोडिएका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक छ ।

    जब वैदेशिक रोजगारीसंग जोडिएका महिलाहरूको कुरा उठ्छ, तब उनीहरूको यौनिकता जोडिन्छ । महिला भएकै कारण र त्यसमाथि घरमा श्रीमान् नहुँदा विभेद बढ्ने गर्दछ । महिला भनेको यौनिकता मात्र होइन, सक्षम व्यक्ति पनि हो भन्ने पितृसत्तात्मक समाजले नबुझ्नाले हिंसा बढेको छ ।

    तर, धेरै चुनौतीका बाबजुद महिलाहरू निकै ठूलो साहस र हिम्मत बोकेर पितृसतात्मक मान्यतालाई तोड्दै वैदेशिक रोजगारमा गएका छन् । यसले पितृसत्तालाई चुनौति दिएको छ । महिलाले आयआर्जन गरेर परिवार, समाज र राष्ट्रको गरिबी निवारणमा टेवा पु¥याएको सबल पक्षलाई हाम्रो समाजले कहिल्यै पनि मूल्यांकन गरेको छैन ।

    विदेशबाट गर्भवती महिलाको उद्धार
    केही दिनअघि युनाइटेड अरब इमिरेट्स (यूएई)बाट गर्भवती महिलाहरू नेपाल आए । यो कुरालाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अमर्यादित टिकाटिप्पणी उठे । कतिपयले महिलाका चरित्रमाथि नै प्रश्नसमेत उठाएका छन् । जबकि श्रीमान संगै बसिरहेका महिलाहरू अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आफ्नै देशमा सुत्केरी हुन महङ्गो चार्टर्ड फ्लाइटमा फर्केका हुन् ।

    पहिलो कुरा त कति जना गर्भवती आए ? कसको गर्भ बोकेर आए ? भन्ने तथ्य खुलाउन आवश्यक नै थिएन । यो कुरामा सम्बन्धित निकायको पनि कमजोरी देखीन्छ र अर्को कुरा सञ्चार माध्यम र सामाजिक सञ्जालमा जसरी प्रकाशन गरिएको छ त्यसले महिलाहरूको चरित्रमाथि दीर्घकालीन प्रश्न उठाएको छ ।

    आफन्तबाटै असुरक्षित
    वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरू घरमा आफन्तबाटै असुरक्षित हुने गरेका छन् । उनीहरू बाहिरी पुरूषबाट भन्दा पनि घरकै संरक्षक भनिने ससुरा, जेठाजु र तथा देवरजबाट यौन हिंसाको सिकार बन्ने गरेको अधिकारकर्मीहरू बताउँछन् । पारिवारिक यौनिक हिंसाको विरोध गर्दा महिलाहरू सामाजिक लाञ्छनाको पनि सिकार बन्न पुग्दछन् । वैदेशिक रोजगारीमा गएका पुरूषका श्रीमतीहरू यौनहिंसा मात्र होइन, उनीहरू सामाजिक, आर्थिक र घरेलु हिंसाबाट पनि प्रताडित हुनुपरेको छ । यस्ता महिलाले सार्वजनिक ठाउँमा गिज्याउने, होच्याउने, खिल्ली उडाउने, गालीगलौज गर्नेजस्ता सामाजिक हिंसाको सामना गर्नुपरेको छ ।

    यता, वैदेशिक रोजगारीले धेरैको दाम्पत्य सम्बन्धलाई बिगारेको छ । खासगरी श्रीमानलाई विदेश पठाएर छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने पवित्र मन लिएर पारिवारिक सर–सल्लाह हुने गरेको पाइन्छ । सोही अनुसार श्रीमान् विदेश जान्छन्, श्रीमती बालबच्चालाई लिएर शहरमा बस्छिन् । अहिले धेरैतिर देखिएको पारिवारिक प्रवृत्ति हो यो । पैसा कमाउन गएका श्रीमान् लामो समय विदेशमै हराउँछन् । यसरी भौतिक रूपमा उनीहरूको दुरी बढ्दै जाँदा आपसी संवाद पातलिँदै जान्छ । सर–सल्लाह हुन पाउँदैन । एकअर्काको भावना र चाहना साटासाट हुँदैन ।

    मनोविज्ञहरू के पनि भन्छन् भने, शारीरिक आवश्यक्ताबाट विमुख हुनुपर्दा पनि दम्पतिबीच सम्बन्ध चिसिँदै जान्छ । अर्कोतिर श्रीमानले पैसा पठाउने र त्यसलाई सही रूपमा उपयोग गर्न नक्सदा पनि सम्बन्धमा फाटो आउने देखिन्छ । धेरैजसो श्रीमान् विदेशबाट फर्कंदा आफूले पठाएको पैसा मात्र होइन, श्रीमति समेत पाउँदैनन् । श्रीमती विदेश गएर घरमा बसेका श्रीमानले अर्को बिहे गरेर बसेका पनि पाइएको छ ।

    सामाजिक दृष्टिकोण
    घरभित्रै पनि महिलाहरू सुरक्षित छैनन् भने वैदेशिक रोजगारमा महिला असुरक्षित हुनु कुनै नौलो कुरो होइन । देशमै महिला असुरक्षित छन् । बाबुद्वारा छोरी बलात्कृत भएको तथ्याङ्क बढ्दो छ । एउटा मान्छेको लागि घर भन्दा ठूलो सुरक्षित ठाउँ अरू हुन सक्दैन । तर महिलाहरू त्यही घरभित्रै असुरक्षित छन् । घरभित्रै छोरी असुरक्षित हुने देशका महिलाहरूलाई बेग्लै परिवेश, भाषा, धर्म, संस्कृति, फरक भौगोलिक वातावरण, राजनीतिक वातावरण, हरेक किसिमले फरक ठाउँमा जाँदा धेरै चुनौती र गाह्रो त हुने नै भो । तर, पनि दलित, जनजाति, कम पढेलेखेका, एकल महिला, सम्बन्ध विच्छेद भएका र श्रीमानले सौता ल्याएका महिला वैदेशिक रोजगारीमा जान बढी बाध्य देखिन्छन् ।

    यद्यपि, बालबच्चालाई पढाउनकै लागि, बेरोजगार श्रीमानलाई सहयोग गर्नका लागि, घरमा वृद्धा परिवारको स्याहार गर्नुपर्ने र पारिवारिक दायित्व बढी भएका महिलाहरू पनि विदेश जान बाध्य छन् । दुवै अवस्थाले विदेशीनुपरेका महिला भएपनि उनीहरूको समस्या भने साझा छ ।
    पुरुषहरू विदेश जाँदा परिवार पाल्न विदेश गएको भन्निछ । एउटा जिम्मेवार व्यक्तिको रूपमा पुरुषलाई चित्रण गरिन्छ । तर महिलाहरूले सशक्त भएर आर्थिक योद्धाको रूपमा गरेको

    योगदानको पाटोलाई कसैले हेरेको पाइँदैन । यसर्थ यहाँ महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । हाम्रो बुझाइ, व्यवहार र हामीले बनाउने, लेख्ने नीतिहरू पनि महिलामैत्री छैनन् । जसका कारण महिला, ‘स्वतन्त्र मान्छे’ भएर बाँच्न सकिरहेको अवस्था छैन । वैदेशिक रोजगारमा गएका महिलाले दुख पाएको खण्डमा ‘त्यै खान गएकी थिइस्, दुःख पाइस्, ठिक्क भो’ भन्छन् । सुःख पाएर कमाएर आए ‘यसले गतिलो काम गरेर आएकी होला र ?’ भनिन्छ ।

    श्रीमान विदेश जाँदा यता श्रीमती पैसा खाएर अर्कैसँग भागेको समाचारले निकै प्राथमिकता पाए । त्यसै कुरालाई जोडेर चलचित्रहरू पनि बने । महिलाहरू विदेशमा दुख पाएका उनिहरू विभिन्न हिंसाको शिकार भएका समाचारहरूले प्राथमिकता पाउँछन् । जसले गर्दा उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन हुन सकिरहेको छैन । तर विदेशमा राम्रो पैसा कमाएर नेपालमा घर जग्गा जोडेका महिलाहरू पनि छन् । आफ्नो पौरखले घर बनाएको, खेतिपाती जोडेको, बालबच्चाको शिक्षा, स्वास्थ्यमा लगानी गरेको अवस्था पनि छ । यो कुराले भने त्यती प्राथमिकता पाउँदैन । जसले गर्दा वैदेशिक रोजगार महिलाका लागि सम्मानित बन्न सकेको छैन ।

    त्यसैले वैदेशिक रोजगारमा जाने महिलाको बारेमा कुरा गर्नुअघि समग्र नेपाली महिलाको अवस्थालाई विश्लेषण गर्न आवश्यक छ । तबमात्रै वैदेशिक रोजगारमा जाने महिलाका समस्यालाई सम्बोधन गर्न सकिन्छ । उनीहरूमाथि निर्माण भएको नकारात्मक भाष्य परिवर्तन गर्न सकिन्छ ।


    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार