• जीवनशैली | Jiwanshaili
  • सुत्केरी भैंसीलाई दुई हजार भत्ता


    झट्ट सुन्दा अनौठो लाग्न सक्छ। सुत्केरी भैंसीलाई दुई हजार भत्ता। यसमा अनौठो मान्नुपदैन। काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैंसी सुत्केरी हुँदा पाँच हजार रुपैयाँ र त्यसपछि दुई हजार रुपैयाँको दरले सुत्केरी भत्ता दिँदै आएको छ।

    पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ।

    दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि पशुपालक घरपरिवारले पालेको भैंसी पहिलो बेतको सुत्केरी हुँदा पाँच हजार रुपैयाँ र त्यसपछि दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ।

    invotech
    वर्षौंदेखि गाई पाल्दै आएका पनौती नगरपालिका–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैंसी थपिन्।

    नगरपालिकाले ल्याएको अनुदानपछि भैंसी थपेर दूध बिक्रीमार्फत् घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएका छन्।

    ‘गाई र भैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र सुत्केरी प्रोत्साहनले अहिले अर्को भैंसी थप्ने सोचाइमा छु’, उनले भने।

    Euro
    वर्षौंदखि भैंसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैंसी पाल्न छाडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्रीलाई नगरपालिकाले भैंसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले पुनःव्यावसायिक भैंसीपालनमा आकर्षित गरेको छ।

    उनले भने, ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिने भएपछि चार भैंसी मासुको मूल्यमा बेचेर छाडेको थिए, अहिले पुनःभैंसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैंसी छन्।’

    भैंसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानलाई आत्मबल बढेको छ।

    ‘भैंसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थो, अब त्यो समस्या हटेको छ, भैंसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हुनाले हामी किसानलाई ठूलो राहत मिलेको छ’, पनौती–१२ कै भावना थापाले भनिन्,‘अब थप दुइटा भैंसी थपेर पाडापाडी पनि हुर्काउँछु।’

    पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैंसी पालेका छन्।

    उनले भने, ‘नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ।’

    नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ बाटै भैंसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैंसी भत्ता कार्यक्रम सुरू गरेको थियो। अभियान सञ्चालन भएपछि अहिले पनौतीमा दूधको उत्पादन दोब्बर भएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको तथ्याङ्कअनुसार नगर क्षेत्रमा चार हजार ७४७ भैंसीपालन गरिएको थियो। त्यस समयमा वार्षिक रूपमा करिब ५०० भैंसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे।

    करिब रु छ करोड भैंसी खरिदमा रकम बाहिर जाने गरेको थियो। त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो। उत्पादितमध्ये १५ हजार लिटर नगरभित्रै र २५ हजार काठमाडौं उपत्यकामा खपत हुने गरेको थियो। नगरपालिकाले सो अभियान सुरू गरेपछि भैंसीको सङ्ख्यामा अहिले दोब्बरले बढी भएको नगर कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ।

    उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखिएको छ।

    बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो। नगरपालिकाले अहिले पनि खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ। नगर कृषि तथा पशुपंक्षी शाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैंसीलाई रु पाँच लाख ७५ हजार खर्च भएको छ। शाखाका प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६/०७७ मा ४४४ भैंसीलाई रु १२ लाख र २०७७/०७८ मा ६४१ भैंसीलाई रु १७ लाख ५० हजार खर्च भएको छ।

    चालू आर्थिक वर्षको हालसम्म करिब ९०० भैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ।

    सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु ४० लाख बजेट लाग्ने अनुमान गरिएको छ। अहिले पनौतीमा सात हजार ८५८ भैंसी रहेको नगरपालिकाले जनाएको छ। खासगरी मुर्रा जातका भैंसी यहाँ पालिन्छ। हाल दूधको उत्पादन दैनिक ७० हजार लिटर हाराहारीमा रहेको बताइएको छ। तीमध्ये ५० हजार लिटर काठमाडौंमा बिक्रीका लागि पठाइन्छ।

    अभियान सञ्चालन गरेपछि भैंसीको सङ्ख्या झण्डै दोब्बर तथा दूध उत्पादन पनि दोब्बर भएको नगरप्रमुख भीम न्यौपानेले बताए।

    उनले भने, ‘हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तरसमेत उकास्सिएको छ।’

    नगरपालिकाले हालसम्म ९५६ वटा पाडी वितरण गरेको छ।

    तीमध्ये आव २०७५/०७६ मा ३०० पाडी वितरण गरिएको थियो। वितरण गरिएको पाडीमध्ये अहिले १३६ वटा गर्भवती रहेको कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ।

     


    क्याटेगोरी : गाँउघर

    प्रतिक्रिया दिनुहोस