दुःखीका दुई साक्षत ‘भगवान’ !
काठमाडौं, ६ जेठ
गाउँलेले ‘माम काइँली’ भनेर बोलाउँछन्, फूलमाया तामाङलाई । उनी उमेरले ७० वर्ष छेउछाउ पुगिन् । संसारमा कमै मान्छेले दुःख पाएका छन् भने ती कम मान्छेमा सायद फूलमाया पनि पर्छिन् ।
उनले दुःखको दिन र रात कटाएको वर्षौं भयो । पेटभरी खाना खाएको पनि वर्षौंदेखि हो । भएको एक छोरा पनि दुई दशकदेखि बेपत्ता छन् । ‘आखे काइँला’ भनिने उनका श्रीमान् दिवंगत भएको पनि वर्षौं भयो ।
उनको घर भने पाँचथरको तुम्बेवा गाउँपालिका–१, साविक आङना–५ रातमाटेमा छ ।
यही ३ जेठमा भने केही चिनेका र नचिनेका मानिसहरू उनको घरमा आए । चिनेकामध्येमा थिए, अजेन्द्र वाइबा तामाङ र पपेन्द्र तामाङ । दुवै जना उनी व्यवसायी हुन् ।
रातमाटे नै घर भएका अजेन्द्रसँग जिल्ला सदरमुकाम फिदिमदेखि साथमा गएका थिए, राजेन्द्र अधिकारी । उनीहरू दुवै जना माम काइँलीले केही दिन भए पनि पेटभरी खान पाऊन् भनेर चामलको बोरा लिएर हुन् ।
घरको डिलमा ५० किलो चामलको बोरा राखिएपछि माम काइँली मुस्कुराइन् । उनी तामाङ भाषा मात्र बोल्छिन् । खस–नेपाली भाषा बोल्न जान्दिनन् । र, भनिन्, ‘तिजा चु ?’ अर्थात् के हो यो ?
अजेन्द्रले भने, ‘म्ला माम । कान चाउ बिसी बासी पिन्बा ।’ (चामल हो आमै । भात खानु भनेर चामल ल्याइदिएको ।
यति भनेपछि उनी खुसी भइन् ।
उनको घरमा अन्न सकिन लागेको छ । खेत छैन । बारीमा फलेको मकैले उनलाई वर्षभरी खाना खान पुग्दैन । तर, राजेन्द्र र अजेन्द्रले चामल लगिदिएपछि उनलाई केही महिनाका लागि ढुक्क भएको छ । राजेन्द्रले उनलाई एउटा लुङ््गी पनि दिए । लुङ्गी थाप्दै फेरि मुस्कुराइन् माम काइँली ।
यसअघि पनि अधिकारीसहित फिदिमका अर्का युवा समाजसेवी कमल थपलियालगायतले पनि केही वर्ष वर्ष आर्थिकसँगै खाद्यन्न र लत्ताकपडा सहयोग गरेका थिए । त्यसबेला हाँसेकी माम काइँलीलाई राजेन्द्र, अजेन्द्रसहितले फेरि सहयोग गरेर हँसाए ।
माम काइँलीलाई मात्र होइन, उनीहरूले सोही गाउँका सञ्चित तामाङ र मिठुमाया तामाङलाई पनि चामल दिए । उनीहरूलाई पनि आफ्नो बारीमा फल्ने अन्नले वर्षभरी खान पुग्दैन । गाउँमा काम गर्न सक्ने अवस्थामा पनि उनीहरू छैनन् ।
दुवैमा शारिरीक र मानसिक अपाङ्गता पनि छ । आमा पनि कमाएर ल्याउन सक्ने स्थितिमा छैनन् । बुबा दिवंगत भएको एक दशक जति भइसक्यो । बेसहारा जस्तै बनेका उनीहरूलाई चामल सहयोग गरेपछि राजेन्द्र, अजेन्द्र र पपेन्द्रले फोटो खिचाए ।
यससँगै उनीहरूले गाउँकै परतेलडाँडाकी सानुमाया तामाङ र सिरानघरकी नरमायाँ तामाङलाई पनि ५० किलोका एक÷एक बोरा चामल सहयोग गरे । दिन दुःखीहरूलाई सहयोग गरेपछि राजेन्द्रले भनेका छन्, ‘उहाँहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु ।’
राजेन्द्र चर्चित समाजसेवी हुन् । समाजसेवामा समर्पित उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भइसकेका छन् । अजेन्द्र पनि पछिल्ला समय समाजसेवामा जोडिँदै आएका छन् ।
क्याटेगोरी : गाँउघर, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस