लमजुङमा दिनहुँ पहिरो जाँदा मनाङ यात्रा गर्न सकस
लमजुङमा पहिरोले जाँदा मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेशीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बन्ने गरेको हो । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन ।
ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय-समयमा पहिरो खस्दा आवतजावत नै बन्द हुने गरेको छ ।
केही समययतादेखि वर्षाका कारण बेँशीसहर नगरपालिकास्थित खरखरे, मर्स्याङ्दी गाउँपालिकास्थित अर्खले, च्याम्चे, स्याङगे, सिरचौरलगायतका ठाउँमा पहिराका कारण सवारी आवागमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसारपसार गर्नुपर्ने हुन्छ ।
बर्सेनी यो समस्याले मनाङवासीका साथै पैदलयात्री पर्यटकलाई आवत-जावतमा कठिनाइ भएको स्थानीय बताउँछन् । सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।
हुन त मनाङ र लमजुङ जोड्ने एकमात्र बेँशीसहर-चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने केही स्थानमा भएको छ । तर, पनि सहज भने हालसम्म पनि बनाउन सकिएको छैन । क्याराभानले वि.सं. २०७२ देखि पाएको ठेक्का हालसम्म पनि पूरा गर्न सकेको छैन ।
बेँशीसहर-चामे सडकअन्तर्गत बेँशीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे-बेँशीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउनेलगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने एक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फमात्रै नाली निर्माण हुने भएको छ ।
वर्षामा बाढी-पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ । कहिले हिमपात त कहिले बाढीपहिराको बहानाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ ।
क्याटेगोरी : फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस