सडकसँगै गाउँमा पहिरो
हेमन्त केसी
सुर्खेत , १२ साउन
सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् ।
जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।
नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास गरेर जोखिममा परेका ३९ वटै घर खाली गरिएको थियो। जोखिममा परेका सबै घरपरिवारका पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
राडिज्युला–दाँजे–खदी–बारिङे सडकखण्डबाट निस्केको माटो र ढुङ्गाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो झरेको हो । पहिरोका कारण सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन् ।
गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने कतिपय भत्किने अवस्थामा रहेको स्थानीयवासीले बताएका छन्। भत्किएका घरको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। पहिरोले वडा नम्बर ७ का धान, मकै खेतीबाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले ढाकेको छ ।
नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकैबारीमा पूर्ण रूपले क्षति भएको छ। त्यसैगरी चार जना स्थानीयवासीका घरको छेवैमा पहिरो बग्दा घर कतिबेला पुर्ने हो भन्ने डर भइरहेको उनले बताए ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस