• जीवनशैली | Jiwanshaili
  • एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा


    खड्क सुनार
    मुगु, १८ साउन

    मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

    स्व. राजा वीरेन्द्रले २०४० सालमा सिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली एक रुपैयाँको नोटमा अंकित गरेकाे थियाे । तर, राजा वीरेन्द्रको निधनपछि चंखेली हिमालको वर्णन पनि सेलाएको स्थानीय सुनाउँछन् ।

    विशेषगरी चंखेली हिमालको मुख्य विशेषता भनेकै यसको टुप्पोमा पुगेपछि नेपालकै ठूलो राराताल, चुचेमार, मुर्माटप, मुगु कर्णाली नदी, हुम्ला, जुम्लाका केही स्थानीय तहका बस्तीसमेत अवलोकन गर्न सकिन्छ ।

    सदरमुकाम गमगढी बजारदेखि गाडी, मोटरसाइकलबाट तीन घन्टामा चंखेली हिमालको फेदसम्म र त्यहाँदेखि दुई घन्टा पैदलयात्रा गर्न सकिन्छ । अहिले पनि चंखेली हिमालमा रमाउने स्थानीयको जमात मनग्य छ ।

    हिमालको टुप्पोबाट देखिने विभिन्न स्थानका दृश्यले चंखेलीलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सकिने आन्तरिक पर्यटक पदमबहादुर महत बताउँछन् । चंखेली हिमालको फेदमा साना काठको टहराेमा होटल व्यवसाय गर्दै आएका व्यवसायीले विगतभन्दा यो वर्ष चंखेली घुम्न आउनेको संख्या कम रहेको बताए ।

     


    क्याटेगोरी : पर्यटन

    प्रतिक्रिया दिनुहोस