बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित
टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ । कथालाय इन्कका डाइरेक्टर राजीवधर जोशीले यसलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । यसमा वागर अघाईका चित्र समावेश छन् ।
यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् ।
सानोपंखी चरा सपनाका व्यापारी आउनेबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहरू अघि बढ्छन् । एकाएक आकाशमा रंगीबिरंगी चराहरू देखा पर्छन्, ती बिस्तारै कागहरूको देशमा आइपुग्छन् । बहुमूल्य सामान लिएर आएका ती सपनाका व्यापारीले सबैलाई आफ्नो रुचिअनुसारको सामान बेचेर फर्कन्छन् ।
ठूलाठूला सपना बोकेर हिँड्ने सानोपंखीको रोजाइमा कुन सामान प¥यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ? यसमा सानोपंखीको मनोदशालाई पनि प्रस्तुत गरिएको छ ।
सात वर्ष वा त्यसभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ । यसमा चराहरूको संसार प्रस्तुत गरिएकाले बालबालिकालाई कल्पनाशील बनाउन पनि सिकाउँछ ।
३० वर्षयता लेखन र प्रकाशनको क्षेत्रमा सक्रिय गिन्युसको जन्म सन् १९६८ मा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा प्राथमिक शिक्षा हासिल गरेकी उनले बोगाजिकी विश्वविद्यालयमा टर्किस भाषा र साहित्यको अध्ययन गरिन् । १९९२ देखि १९९४ सम्म अंग्रेजी शिक्षकको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । १९९४ मै मास्टर्स डिग्री हासिल गरेकी उनले सन् २००१ मा डक्टरेटको उपाधि लिइन् ।
बालबालिकाका लागि उनका २० भन्दा बढी पुस्तक प्रकाशनमा छन् । विशेषगरी टर्कीको प्राथमिक तहका लागि उनले किताव लेखेकी छन् ।
पुस्तककी चित्रकार अघाईको जन्म १९९२ मा तेब्रिजमा भएको हो । तेहरान विश्वविद्यालयबाट टेक्सटाइल र फेसन विधामा स्नातक उनले चित्रकारितामा स्नातकोत्तर पूरा गरिन् । हाल उनी यिल्डिज प्राविधिक विश्वविद्यालयबाट कला र डिजाइनमा पीएचडी गरिरहेकी छन् । उनले २००८ देखि बालबालिकाका पुस्तकमा चित्र बनाउन थालेकी हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस