राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाहको प्रयास
काठमाडौं, २७ साउन
निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् ।
आफूले न्याय नपाएको भन्दै केही दिनयता उनले राष्ट्रपति भवन अगाडि गएर आत्मदाह गर्ने बताउँदै आएकी थिइन् । उनको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् ।
प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको छ । आफू १७ वर्षको हुँदा एक युवकले बतात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उनले दोषीलाई कारबाहीको माग राखेर दोस्रोपटक आमरण अनशन बसेकी हुन् ।
महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी छन् । तर, मुद्दा विचाराधीन छ । जसकारण आफूले न्याय पाउन नसकेको र पीडित खुलमखुला हिँडेको भन्दै कारबाहीको माग राखेर उनी काठमाडौं आएर अनशन बसेकी हुन् ।
यसअघि उनको अनशन तोडाउन सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रोपटक यही २० साउनदेखि आमरण अनशन बसेकी हुन् । गत ३ असारमा गृहमन्त्री बालकृष्ण खाणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उनले अनशन तोडेकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस