कविराम र कर्णबहादुरको सच्चियो नागरिकता
नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो ।
साबिक मेहेलतोली गाविस-६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका-५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो । तत्कालीन मेहेलतोली गाउँ पञ्चायत-६, हाल भगवतीमाई गाउँपालिका-३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुगेका छन् ।
तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ‘कुकुर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।
नागरिकतामा अपमानजनक नाम भएको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेको थियो । साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।
गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
कविराम जस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साबिक कट्टी गाविस-६, हाल भगवतीमाई गाउँपालिका-५ का कर्णबहादुरको पनि नागरिकताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन् । नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।
आवश्यक प्रक्रिया पुर्याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । ‘हामीले नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन् ।
क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै


प्रतिक्रिया दिनुहोस