• जीवनशैली | Jiwanshaili
  • बाघ वर्षलाई बिदाइ गरी बिरालो वर्षलाई स्वागत-‘तमु ल्होसार’


    गुरुङ समुदायले पुरानो बाघ वर्षलाई बिदाइ गरी नयाँ बिरालो वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिए । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको छ ।

    नयाँ वर्ष शुरु भएको खुसीयालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा तीन दिन अघिदेखि नै ल्होसार महोत्सवको आयोजना गरिएको छ । कार्यक्रम शनिबारसम्म सञ्चालन हुने तमु ह्युला होजधी राष्ट्रिय परिषद्ले जनाएको छ ।

    ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । स्वदेशमा मात्र नभई विदेशमा बस्ने गुरुङ समुदायले पनि सांस्कृतिक परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् । यस दिन गुरुङ समुदायका मानिस सांस्कृतिक एवं परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।

    ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमश : तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको यस समुदायका अगुवाको भनाइ छ । तमु ल्होसारका अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । यसअघि गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।


    क्याटेगोरी : चाडपर्व विशेष, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस