• जीवनशैली | Jiwanshaili
  • आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै


    राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शनिबार मनाइँदैछ ।

    प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाउन लागिएको हो ।

    नेपाली कांग्रेसका संस्थापक कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

    शनिबार नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी संग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ ।

    प्रत्येक वर्ष मनाइने पुस १६ गतेको भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किनु भएको थियो ।

    पछिल्लो समय यो दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।

    २०१७ साल पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म जेलमा रहेका वीपी कोइरालालगायतका नेताहरु रिहा भएपछि भारत प्रवासमा गएका थिए ।

    २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

    मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकैबीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

    मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस