• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्याे, ९३ राष्ट्रमा सङ्क्रमण


    विश्वव्यापी महामारीको प्रकोपको रूप लिएको नोवल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शुक्रवार सम्म कोरोना भाइरसका कारण एक हजार आठ सय भन्दा बढी व्यक्ति सङ्क्रमित भएपछि कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या एक लाख एक सय ६२ पुगेको हो । चीनमा मात्रै ८० हजार ५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने चीन बाहेकका ९२ देशमा भने बिस हजारको हाराहारीमा कोरोना भाइरसको सङ्क्रमित देखिएको हो ।

    चीनमा मात्रै कोरोना भाइरसका कारण ३ हजार ४२ जनाको मृत्यु भएको छ । चीनमा ५३ हजार ९ सय २९ सङ्क्रमित निको भएर घर फर्केका छन् । यस्तै २३ हजार ५सय ८८ जना बिरामी उपचाररत रहेका छन् । चीनबाहेकका देशमा पछिल्लो हप्ता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भने ४२ जनाको ज्यान गएको छ । शुक्रवार मात्रै ३ सय ९जना व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ ।

    यस्तै इरानमा शुक्रवार मात्रै १६ जना व्यक्तिको ज्यान गएको छ । इरानमा १ हजार २ सय ३४ जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । शुक्रवार सम्म १ सय २४ जना व्यक्तिको ज्यान गएको छ । यस्तै अमेरिकामा थप २ जनाको ज्यान गएको छ । अमेरिकामा २ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने १४ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै इटलीमा १ सय ४८ जनाको ज्यान गइसकेको छ भने ३ हजार ८ सय ५८ जनाले ज्यान गुमाइसकेको छ ।

    शुक्रवार दिउँसो सम्म थप चार देशमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भुटान, भ्याटीकन सिटी सर्विया र क्यामरुनमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै कोरोना भाइरसको सङ्क्रमण विश्वको ९३ राष्ट्र र एक पानी जहाजमा फैलिएको छ । पछिल्लो समय विश्वव्यापी चिन्ता र चासोको रूपमा हेरिएको कोरोना भाइरस नियन्त्रणको लागि विश्व व्यापी प्रयासका साथसाथै नेपालमा पनि विभिन्न तयारी गरिरहेको सरकारले बताएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस