रङ, अबिरभन्दा स्वास्थ्य सचेतनाले महत्व पाउँदो होरी
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बुधबार तेस्रो दिन पनि ‘होरी’ (फागु) पर्व मनाइँदै छ । सोमबार पर्वतेमूलका हिन्दूले फागुपर्व मनाएका थिए भने मङ्गलबार साधुसमाज (गुरुकूल र मठ परम्परा) ले होरीपर्व सम्पन्न गरेका छन् । आज बुधबार तेस्रो दिन भने महोत्तरी, धनुषासहित मिथिला क्षेत्रका अन्य जिल्लाका गृहस्थ परिवारले होरीपर्व मनाइरहेका छन् ।
सामान्यतया प्रदेश नं २ का मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि त्यसको भोलिपल्ट अर्थात् चैत कृष्ण प्रतिपदाका दिन होरीपर्व मनाउने परम्परा छ । तर, यस क्षेत्रमा मङ्गलबार काटमार नगर्ने र यो दिन खरो बार मानिने भएको हुँदा मैथिलले आज बुधबार तेस्रो दिन होरी मनाएका हुन् । महोत्तरीका बर्दिवासदेखि दक्षिणका सबै ठाउँमा आज नै आमरूपमा होरी मनाइँदैछ । त्यसैगरी धनुषाको जनकपुरधामलगायतका ठाउँमा आज नै होरीको उल्लास देखिएको छ ।
होरी अर्थात् फागुपर्व बारका आधारमा नभई तिथि र अन्तर्गृह परिक्रमाका भोलिपल्ट मनाइने परम्परा रहेको साधुसन्त बताउँछन् । यद्यपि बार नमिलेको भन्दै आज पर्व मनाउनेहरुले पनि मङ्गलबार मांसभोजन नगर्ने परम्पराकै आधारमा आज पर्व मनाइएको बताएका छन् । एक साताअघिदेखि नै बाक्लो जमघटबीच रङ र अबिरको खेल हुने होरी (फागु) पर्व यसपालि भने महोत्तरीका गाउँ÷नगर बस्तीमा चकमन्न देखिएको छ । विश्वभरि नै कोरोना भाइरसको सन्त्रास फैलिएका बेला पर्व परेपछि यहाँका गाउँ, नगर, बस्ती चकमन्न बनेका हुन् । अहिले एक-दुई जनाको समूहमा रहेका युवा बस्तीका घर÷घर पसेर अबिरको टीका लगाउँदै-लगाइदिँदै पर्व मनाइरहेका छन् । यसपालि होरीपर्वमा लोला र रङको प्रयोग कम भएको छ भने भीडभाड पनि विगतजस्तो नभएको देखिएको छ ।
“पर्व त उमङ्ग र उत्साहको हो ता नि”, विगतमा होरीमा आफैँ समूहबीच रङ, अबिर खेल्दै बस्तीका घरघर पस्ने भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतो भन्नुहुन्छ, “तर यसपालि कोरोनाको सन्त्रासले सचेत हुनुप¥यो नि ! मैले त आफ्नो वडाबस्तीका घरघरै पसेर भीडभाडमा नजान सबैलाई आग्रह नै गरेको छु ।”
रोगको सन्त्रासले जिल्लाका सबैतिरजसो होरीको उमङ्ग फिका भएको छ । पर्वमा रङ, अबिर खेल्दै हिँड्ने कुरामा मात्र नभएर घरघरमा खाने परिकारका बारेमा पनि सर्वसाधारण सचेत देखिएका छन् । “जीवन रहे खाने, हिँड्ने र रमाउने अवसर कति आउँछन् कति !” बर्दिवास नगरपालिका–९ पशुपतिनगरका युवा सामाजिक कार्यकर्ता सुरजसिंह कुशवाहा भन्नुहुन्छ, “म सधैँ होरी खेल्न आफैँ साथीलाई तम्साउने गर्थेँ, यसपालि त घर छाड्दिन ।” पर्वमा सुपाच्य साकाहारी परिकार मात्र धेरैजसोले पकाएका छन् ।
क्याटेगोरी : चाडपर्व विशेष, स्वास्थ्य शैली
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस