कोरोना प्रभावः इटाली, इरानबाट भारतीयको उद्धार
नयाँदिल्ली, २ चैत – भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् ।
कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० जना यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ । उनीहरु आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन् । भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिनु भएको छ । विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उहाँले बताउनु भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोविड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो । इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन् । दुईवटा एयर इन्डिया उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।
यसैबीच, कोविड–१९ बाट भारतमा सङ्क्रमितको संख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीट्जरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् । कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्थाहरु र सिनेमा घरहरु मार्च ३१ सम्म बन्द गरिएका छन् । अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस