कोरोना संक्रमण ब्लड ग्रुपअनुसार फरकः तथ्य केहो ?
गतवर्षको डिसेम्बर महिनामा चीनको वुहान प्रान्तको हुबेईबाट फैलिएको कोरोना भाईरसले महामारीको रुप लिएको छ । यसको संक्रमणले विश्व आक्रान्त छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको प्रभावबाट मृत्यु हुनेको संख्या ७ हजार नाघिसकेको छ । चीनबाट फैलिएको यो भाइरसलाई कोभिड-१९ (Corona Virus Disease -19) नाम दिइएको छ । तीन महिनाको अवधिमा विश्वका १७६ वटा देशमा संक्रमण फैलिइसकेको छ । मृतकको संख्या एसियाको तुलनामा युरोपमा बढी छ । युरोपेली देशहरुमध्ये पनि इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ ।
यसैबीच पछिल्लो एक अनुसन्धान अनुसार फरक फरक रक्तसमूह भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको जोखिम फरक हुने तथ्य पत्ता लागेको छ । चीनको वुहान र सेन्जेन प्रान्तमा गरिएको अनुसन्धानबाट यस्तो तथ्य पत्ता लागेको हो । चिनियाँ अनुसन्धानकर्ताहरु रक्तसमूह ‘ओ’लाई कोरोना संक्रमणको जोखिम कम हुने निष्कर्षमा पुगेका छन् । त्यसैगरी रक्तसमूह ‘ए’लाई तुलनात्मक रुपमा संक्रमणको जोखिम बढी भएको पाइएको छ ।
नयाँ हल्लाको खेती
चीन कोरोना भाइरसको महामारीबाट मुक्तप्रायः भइसकेको छ । तर, अन्य मुलुकमा यसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । यसैबीच साउथ चाइना मर्निङ पोस्टमा रक्तसमूह अनुसार संक्रमणको जोखिम फरक हुने समाचार प्रकाशित भएपछि त्यसैको हवाला दिँदै बजारमा नयाँ हल्ला फैलिएको छ ।
रक्तसमूह ‘ओ’लाई संक्रमणको जोखिम कम हुने र ‘ए’मा जोखिम बढी हुने तथ्य अनुसन्धानबाट पत्ता लागेको हो । अनुसन्धान चीनका दुईवटा प्रान्तमा सिमित थियो । त्यसैले उक्त अनुसन्धानको निचोड संसारभर लागु नहुन पनि सक्छ । अझैपनि कोरोना भाइरसको प्रकृति, संक्रमण दर, कारण र उपचारबारे विश्वभरका विज्ञहरु निष्कर्षमा पुग्न बाँकी नै छ ।
अतः रक्तसमूह ‘ओ’लाई संक्रमण नै हुँदैन भन्नु सही होइन । त्यस्तै, रक्तसमूह ‘ए’ हुने सबैलाई कोरोनाको संक्रमण हुन्छ भन्नुपनि गलत हो ।
केछ समाचारमा ?
रक्तसमूह अनुसार कोरोना भाइरस संक्रमणमा फरक हुने समाचार साउथ चाईना मर्निङ पोस्टमा प्रकाशित छ । मार्च १७, २०२० मा स्थानीय समय अनुसार साँझ ५ बजे अनलाईन संस्करणमा प्रकाशित उक्त समाचार स्टेफेन चेनले बेइजिङबाट लेखेका छन् । समाचारको शीर्षक छः ‘पिपुल विथ ब्लड टाइप ए मे बी मोर भल्नरेबल टु कोरोनाभाइरस, चाईना स्टडी फाइन्ड्स’ अर्थात्, ‘रक्तसमूह ‘ए’ हुने मानिसमा कोरोना भाइरस संक्रमणको जोखिम बढी हुनसक्छ, चीनमा अध्ययनबाट पत्ता लाग्यो ।’
समाचारमा भनिएको छ, रक्तसमूह ‘ए’ हुने मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण हुने जोखिम बढी हुनसक्छ । चीनमा कोभिड-१९ संक्रमित मानिसमा भएको अध्ययनबाट ‘ओ’ रक्तसमूह हुनेमा मानिसमा भाइरस प्रतिरोधी क्षमता बढी भएको पाइएको छ ।
अनुसन्धाताहरुले चीनको वुहान र सेन्जेन प्रान्तमा २ हजार जनाभन्दा बढी संक्रमितहरुको रक्तसमूहको नमुना स्वस्थ जनसंख्यासँग तुलना गरी अध्ययन गरेका थिए । उनीहरुले ‘ए’ रक्तसमूह हुनेहरुमा संक्रमण दर बढी रहेको र बिरामीहरुमा खतरनाक लक्षणहरु देखिएको पाए । यद्यपि अनुसन्धाताहरुले उक्त अध्ययन प्रारम्भिक भएको र अझै धेरै अध्ययन गर्न बाँकी नै रहेको बताएका छन् ।
वुहान युनिभर्सिटीको झोङनान हस्पिटलका वाङ जिङहुवान भन्छन्, ब्लड ग्रुप ‘ए’ भएका व्यक्तिहरुले बढी सुरक्षात्मक उपायहरु अपनाउनु आवश्यक छ । उनका अनुसार ‘ए’ समूहको रगत हुने व्यक्तिलाई विशेष निगरानी र आक्रामक उपचारको आवश्यकता पर्दछ । वाङ उक्त अध्ययन टोलीको नेतृत्वकर्ता हुन् ।
अध्ययनपछि वाङको टोलीले प्रकाशन गरेको लेखमा भनिएको छ, तुलनात्मक हिसाबले ब्लड ग्रुप ‘ओ’ हुने व्यक्तिमा सरुवा रोगको जोखिम अन्यको तुलनामा निकै कम हुन्छ ।
वुहान प्रान्तमा कोरोनाको कारण मृत्यु हुने २०६ जनामध्ये ८५ जनाको ब्लड ग्रुप ‘ए’ थियो । मृतकमध्ये ५२ जनाको ब्लड ग्रुप ‘ओ’ पाइएको छ । तर, यस्तो अनुपात उमेर समूह र लिङ्गअनुसार फरक छ ।
उक्त अध्ययन टोलीमा बेइजिङ, वुहान, साङ्घाई र सेन्जेनका वैज्ञानिक सहभागी थिए । अध्ययन टोलीको प्रतिवेदन ‘पियर रिभ्यु’ गरिएको भने थिएन । तियानजिनस्थित स्टेट कि लेबोरेटरी अफ एक्सपेरीमेन्टल हेमाटोलोजीमा आबद्ध अनुसन्धाता गाओ यिङदाईका अनुसार त्यो अध्ययनमा समावेश २ हजार जनाको नमुना थोरै होइन तर यसलाई अझै ठूलो नमुना अध्ययन गरी निष्कर्षमा पुग्नु उचित हुन्छ ।
क्याटेगोरी : कोरोना अपडेट, खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस