स्याङ्जामा तीन सय ६६ जना क्वारेन्टाइनमा
वालिङ, १५ चैत / लकडाउन जारी भएको चौथो दिनसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा उनीहरु बसेका हुन् ।
जिल्लामा होम क्वारेन्टाइनमा ३४० जना, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २५ जना र सेल्फ क्वारेन्टाइनमा एकजना गरी कूल ३६६ जना क्वारेन्टाइनमा बसेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । जिल्लाका स्थानीय तह, प्रहरी प्रशासन लगायतको सहयोगमा विदेशबाट आउनेहरुको खोजी कार्यलाई तीब्र पारिएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनहुँ थपिँदै गएको प्रनाउ भण्डारीले बताउनुभयो । “लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्नका लागि सचेतनास्वरुप माइकिङसमेत गरिएको छ” भण्डारीले भन्नुभयो, “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौँ ।” प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लकडाउनको अवज्ञा गरी शुक्रबार सञ्चालन गरिएका २६ सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्लाका ११ वटा पालिकाले आ–आफ्नो पालिकामा क्वारेन्टाइन तथा आइसोलेसन श्ययाहरु तयार पारेका छन् । जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिकाले विदेशबाट फर्केकाहरुको विवरण सङ्कलनलाई तीब्रता दिएको छ । विदेशबाट फर्केकाहरुको प्रत्येक घर–घरमा पुगेर विवरण सङ्कलन गर्ने कार्यलाई तीब्रता दिएको वालिङ नगरका प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका १०८ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर–घरमा पुगेर १०८ जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख खाँणले बताउनुभयो । विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलबासीलाई आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस