• जीवनशैली | Jiwanshaili
  • काेराेना पोजिटिभ देखिएका ५ ग्लोबल स्टार


    विश्‍वभरको कला, मनोरञ्‍जन, पर्यटन र व्यावसायिक गतिविधि ठप्पप्रायः छ । कलाक्षेत्रका विश्‍वप्रसिद्ध कार्यक्रम र समारोह अवरुद्ध भएका छन् । हरेक वर्ष मे महिनाको पहिलो सोमबार हुने ‘मेट ग्याला’को २०२० संस्करण अनिश्‍चितकालका लागि सरेको छ । महामारीको कारण ‘कान्स फिल्म फेस्टिभल’ जुन वा जुलाई महिनामा सर्ने आयोजकको भनाई छ ।

    संसारभरका दर्जनौं कलाकार, लेखक संक्रमित भएका छन् । यही पृष्ठभूमिमा हामीले कोभिड-१९ संक्रमण भएका अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त केही कलाकारको बारेमा जानकारी दिँदैछौं ।

    टम ह्‍यान्क, रिता विल्सन

    एकेडेमी अवार्ड विजेता हलिउड जोडी टम र रितालाई कोभिड-१९को संक्रमण देखिएको छ । टेस्ट पोजिटिभ देखिएपछि अष्ट्रेलियाको गोल्ड कोस्ट हस्पिटलमा भर्ना भएका उनीहरु हाल सेल्फ आइसोलेसनमा छन् ।

    ६३ वर्ष उमेर पुगेको यो जोडीले थकित अनुभुति भएको, शरीरमा हल्का पीडा र रुघाखोकीको समस्या रहेको बताएका छन् । एल्भिस प्रेस्लीको जीवनमा आधारित फिल्मसम्बन्धी कामको लागि अष्ट्रेलियामा रहेको बखत उनीहरुमा संक्रमण देखिएको हो ।

    ओल्गा कुरीलेन्को

    फिल्म ‘क्वान्टम अफ सोलेस’बाट चर्चित फ्रेन्च अभिनेत्री ओल्गाले टेस्ट पोजिटिभ देखिएको बताएकी छन् । ‘मेजिक सिटी’ टेलिश्रृङ्‍खलाकी ४० वर्षीय अभिनेत्रीले भाइरस संक्रमणपछि थकान र ज्वरो बढेको बताइन् ।

    कुन ठाउँमा रहँदा आफु संक्रमित भएँ भन्‍ने थाहा नभएको तर कारको ह्‍यान्डलबाट सरेको हुनसक्ने उनको अनुमान छ ।  

    इद्रिस एल्बा

    प्रख्यात बिट्रिस अभिनेता इद्रिस एल्बा कोभिड-१९को संक्रमणपछि सेल्फ आइसोलेसनमा छन् । गत हप्‍ता ट्वीटरमा भिडियो पोस्ट गर्दै उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

    संगीतकार समेत रहेका उनले भनेका छन्, ‘सुन्‍नुहोस्, म ठीक छु । कुनै खास लक्षण देखिएको छैन ।’  संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको कारण आफुले परीक्षण गरेको उनले बताएका छन् । ४७ वर्षीय एल्बा ‘द वायर’, ‘एभेन्जर’ र ‘थोर’ मुभीका लागि प्रसिद्ध छन् ।

    क्रिस्टोफर हिभ्जु

    ‘गेम अफ थ्रोन’का अभिनेता क्रिस्टोफर हिभ्जु कोरोना संक्रमण देखिएपछि नर्वेस्थित आफ्नै घरमा आइसोलेसनमा छन् ।

    ‘हामी सबैको स्वास्थ्य राम्रो छ । मलाई सामान्य रुघाखोकीको लक्षण छ’, उनले भनेका छन्, अरुसँग दूरी कायम गर्नु आवश्यक छ । हामी सबै मिलेपछि यो भाइरससँग लड्न सकिन्छ ।

    डानियल डे किम

    दक्षिण कोरियाली अभिनेता किमले आफुमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएका छन् । इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले उक्त जानकारी दिएका हुन् ।

    अभिनेता किम टेलिश्रृङ्‍खला ‘हवाई फाइभ जिरो’का लागि प्रसिद्ध छन् । ५२ वर्षीय अभिनेता किमले सुटिङ स्थगित भएपछि न्युयोर्कबाट फर्किएपछि आफ्नै घरमा रहँदा टेस्ट पोजिटिभ पाइएको बताएका छन् । उनले कोरोना भाइरसको कारण एसियाली मानिसहरु विरुद्ध बेहोशीपूर्ण हिंसाका घटना भएको भन्दै आक्रोश पोखेका छन् । ‘म एसियाली हुँ । मलाई कोरोना भाइरस छ’, किमको भनाई छ, ‘तर मलाई यसको संक्रमण अमेरिकामा भएको हो, चीनबाट होइन ।’

    (एजेन्सीको सहयोगमा)


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस