बेलायतमा खोटाङकी एक युवतीको मृत्यु, १२ जना सङ्क्रमित
खोटाङ, १३ वैशाख /कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पु्ख्र्यौली घर भई हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको बेलायतमा मृत्यु भएको हो ।
मिर्गौलासम्बन्धी समस्याबाट पीडित बिमालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतस्थित जर्ज इलियट अस्पतालमा भर्ना गरेर उपचार गर्ने क्रममा मृत्यु भएको समाजसेवी एवं ब्रिटिस गोर्खा भेट्रान एशोसिएशनका महासचिव भीम सारुले बताउनुभयो । अहिलेसम्म अविवाहित रहेकी बिमाको मङ्गलबार मृत्यु भएको हो ।
उनी पूर्व गोरखा सैनिक बाबुसँगै बस्न गत वर्ष बेलायत पुगेकी थिइन् । बुबा, आमा र बहिनीका साथमा बेलायतस्थित नटिङ्घम बस्दै आएकी बिमाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युको विषयमा किराँत रदु नाछिरिङ साखाम केन्द्र केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमार्फत दुःख व्यक्त गरेको छ ।
यसैबीच बेलायतमा बस्दै आएका १२ खोटाङ्गेलाई कोरोना सङ्क्रमण भएको खोटाङ सेवा समाज युकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा एक, बेजिङस्टकमा छ, आशफोर्डमा तीन तथा क्याट्रिक र ओकिङमा एक÷एक जना खोटाङ्गे सङ्क्रमित भएको उल्लेख छ । उनीहरुको अहिले बेलायतस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बेलायतमा उपचाररत सङ्क्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको खोटाङ सेवा समाज युकेले जनाएको छ ।
यता १० स्थानीय तह रहेको खोटाङ जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् । छिमेकी जिल्ला उदयपुरमा एकैदिन १२ सङ्क्रमित भेटिएलगत्तै खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गरिएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गर्ने घोषणा गरे पनि बाहिरी जिल्लाबाट प्रवेश गर्नेको सङ्ख्या रोकिएको छैन । लकडाउनका कारण यातायात सञ्चालन नभएपछि रोकिएर बसेका स्थानीय बासिन्दा समस्यामा परेको गुनासो आउन थालेसँगै स्थानीय तहले उद्धार शुरु गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस