• जीवनशैली | Jiwanshaili
  • असारमा थाकेका कृषकलाई हर्षको पर्व


    कृषिमा आधारित बहुल जनसंख्या भएको देशमा कृषिसँग सम्बन्ध राख्ने धेरै चाडपर्व मनाइन्छ । यसो त, नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ प्रचलित छ ।

    कृषकहरूले रोपाईंको सबै काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा रहँदै आएको छ । असार महिनाभरि खेतमा काम गरेर थाकेका कृषकहरू दूधमा चामल र पौष्टिक मरमसला हालेर तयार गरिएको खाद्य परिकार खीर खान्छन् । यसको नेपाली समाजमा विशेष महत्त्व छ किनकि हिन्दू धर्मावलम्बीमध्ये धेरैले साउनमा माछा-मासु नखाने भएकाले साउन महिनाभरि नै खीर खाने गर्छन् ।
    यद्यपि, ‘साउन १५’ लाई विशेष दिन मारेर ‘खीर खाने दिन’ भनी हर्षका साथ मनाउने गरिन्छ ।

    साउन १५ मै खीर खानुको महत्त्व
    साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा-मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्दै दूधमा बनेको परिकार खाने गर्छन् । साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ ।

    रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वस्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, दालचिनी, सुकुमेललगायत सुख्खा फलले स्वादिलो र पोषिलो बनाउँछ ।

    यस्तै चामलमा उर्जा दिने कार्बोहाइडे्रड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत मानिन्छ । खीरका फाइदाहरू यहाँ उल्लेख गरिएको छ :

    १. चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरबाट पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्

    २. गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं । खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।

    ३. खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ ।

    ४. खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।

    ५. खीर बच्चा, वृद्ध र मधुमेहबाहेकका सबैलाई उपयुक्त खानेकुरा हो ।

    तर, दूध र चिनी खान नहुने मान्छेले खीर खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले अलि थोरै मात्रामा खान युपयुक्त हुन्छ । पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ ।

    हिन्दु आस्थाअनुसार पवित्र मानिएको दुधबाट बनेको खीरलाई धार्मिक कार्यमा समेत प्रयोग गरिने भएकालेयो खाँदा व्यक्तिको मानसिक स्वास्थ्यमा समेत अप्रत्यक्ष फाइदा पुर्याउने विश्वास छ ।


    क्याटेगोरी : चाडपर्व विशेष, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस