• जीवनशैली | Jiwanshaili
  • भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि


    नयाँ दिल्ली- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ । उनी हालै कोरोना भाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

    आफूलाई सङ्क्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना भाइरसको परीक्षण गर्न आग्रह गरेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेखेका छन्, “मलाई आज कोरोना भाइरसको सङ्क्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहनु भएका सवैलाई उच्च सतर्कताका साथ आफै एकान्तबासमा बस्न र कोरोना भाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।”

    भारतमा उमेरले ८० वर्ष पुरा गरेका नेताहरुमध्ये कोरोना भाइरसबाट सङ्क्रमित भएको उनी पहिलो होइनन्, यसअघि अरु पनि धेरै वृद्ध नेताहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

    केन्द्रीय गृह मन्त्री अमित शाह, राज्य मन्त्री अर्जुन राम मेघवाल, प्रदेशका कृषि मन्त्री कैलाश चौधरीलगायतलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि गरिएको थियो ।

    त्यसैगरी तमिल नाडुका गभर्नर बनवारीलाल पुरोहित, मुख्यमन्त्री विएस येडियुराप्पा, कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बी श्रीरामुलुलगायतलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

    भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६२ हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    दैनिक हजारौमा सङ्क्रमण देखिएपनि भारतमा अहिलेसम्म १५ लाखभन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजार सात जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४४ हजार ३८६ पुगेको छ ।रासस


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस