• जीवनशैली | Jiwanshaili
  • बाँकेमा कोरोनाबाट थप एकको मृत्यु


    नेपालगन्ज- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

    मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राती ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । सोहिदिन दिउँसो आएको कोरोना परीक्षणको नतिजामा उनलाई पोजेटिभ देखिएको अस्पतालले पुष्टि गरेको स्वास्थ्य कार्यालयद्वारा जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।

    मृतक व्यक्तिको दुबै तिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको स्वास्थ्य समस्या रहेको उक्त नोटमा जनाइएको छ ।

    यो सङ्गै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । मृतक व्यक्तिको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तैयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस