• जीवनशैली | Jiwanshaili
  • संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना लक्षण देखिएपछि अस्पताल भर्ना


    एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्। शुक्रबार दिउँसो कोरोना पुष्टि भएको थियो। ह्वाइट हाउसले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य सावधानीको लागि उनलाई अस्पताल लगिएको जनाएको छ।

    अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ।

    अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो।

    राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको लागि राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन्। समाचारमा उल्लेख भए अनुसार ट्रम्प चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य सावधानी अपनाएर अस्पताल बस्नेछन्। उनले अस्पतालबाटै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ।

    ट्रम्पलाई राखिएको वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टर अमेरिकाको सबैभन्दा ठूलो र प्रसिद्ध सैन्य चिकित्सा केन्द्रमध्ये एक हो।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस