अवतार सिंह पाशको कविता– ‘यात्रा’
पुरानो क्यालेन्डरमा फालेको छु मैले
चाहनाका औलाहरूले बुनेको जाल
अतीतको सागरबाट निकालेर ल्याउनेछु
कुनै टक्क अडिएको समय
अनि त्यसलाई मेरो आजको स्थिति पेश गरेर
गाली गर्नेछु ।
जुन समय प्रेयसीको सुन्दरता
मैले खेतमा छरेको थिए
त्यसैको फलद्वारा
अब खेतहरूसित निष्ठाको वर माग्नेछु
अनि दुलही सडकलाई
आफ्नो कुमार पाइतालाहरूको ताल दिनेछु
मेरो थकाइमा छ– ओसिएको हावाको गन्ध
मेरो निधारमा छ– पतझडको उदास रंग
अनि मेरो अंगालोमा छ– समयको साँचोपन
म आफ्नो हृदयमा भर्न चाहन्छु
प्रकृति चहार्दै गरेको अनगन्ती गीत…
मलाई थाहा छ
त्यति सहज हुन्न यो पैतृक–कर्तव्य
यो कुनै गुण होइन कसैमाथि
कि कुन मौसममा गालिबको शेर
मैले भुइँमा कुल्चिएर आए
मलाई पनि इच्छा हुन्छ
प्यारो मित्रलाई आफ्नो मनको कुरा भन्ने
कुनै अग्लो डाँडामा बसेर बाँसुरी बजाउने
अनि मधुर गीतका लय र भाकाहरूलाई
समय असमय सलाम गर्ने
मैले आफ्नो हृदयलाई
एक जंगली पीपलको हाँगामा झुन्डाएर आएको छु
जसले मेरो भित्री गोजीमा घोचिरहन्छ
वसन्तको कसम
यो यात्रा कहाँ शुरु हुन्छ
अथवा यात्रामा– धुलोका कति रंगहरू हुन्छन्
वा कुनै अन्य प्रश्न
तिमी कुनै जादुगरलाई सोधेर आउनु
म एकजना असभ्य यात्री
केवल यति भन्न सक्छु
बिदाइका कुनै शब्द हुँदैनन्
र, जति पनि यात्रा गरिन्छ त्यो दुःख–पीडाको हुँदैन
त्यस्तै मृत्युको कुनै लक्ष्य हुँदैन
त्यस्तै लक्ष्यको कुनै अर्थ हुँदैन ।
सन् १९५०, सेप्टेम्बर ९ मा तलवण्डी जालन्धर, पञ्जाबमा जन्मिएका अवतार सिंह पाश मूलतः प्रगतिशील कवि हुन् । भारतीय स्वतन्त्रता र सामाजिक मुद्दामा विशेषत क्रान्तिधर्मी भावना ओकल्ने पाश कविता लेखेकै कारण कयौं पटक गिरफ्तारी र जेल जीवन भोग्न बाध्य भए । केही समय उनले बेलायतमा प्रवासी जीवन पनि बिताउनु पर्यो । बेलायत बसाइँका क्रममा उनले ‘एन्टी ४७ फ्रन्ट’ नामक पत्रिका प्रकाशन गरेर असत्यको विरोध गरिरहे ।
पंजाबी भाषामा कलम चलाउने उनका दर्जनौं किताबहरू हिन्दी तथा अङ्ग्रेजी भाषामा प्रकाशित छन् । साडे समियाँ विच (१९७८), उड्डदे बाजाँ मगर (१९७४), लोह कथा (१९७०), खिलरे होये वर्के (१९८४) उनका प्रमुख कविता कृति हुन् । प्रस्तुत कविता सुभाष परिहारद्वारा हिन्दीमा अनुदित उनका प्रतिनिधि काव्यकृति ‘अक्षर अक्षरझ’बाट आरके अदीप्त गिरिले अनुवाद गरेका हुन् ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस