‘बाल उदय’लाई डिजिटल बनाउँदै छौं
नरेन्द्रकुमार नगरकोटी मूलतः कविको रुपमा परिचित छन् । यसबाहेक बालपत्रिका ‘बाल उदय’का सम्पादक रहेका नगरकोटीको ‘सन्नाटाको लय’ कवितासंग्रह प्रकाशित छ । उनको प्रकाशन र सम्पादनमा प्रकाशन हुने ‘बाल उदय’ छोटो समयमा नै नीजि क्षेत्रको स्थापित बालपत्रिका बनेको छ । लकडाउनका कारण रोकिएको पत्रिका पुनःप्रकाशित हुँदैछ । बाल उदय र साहित्य–कर्ममाथि रहेर जीवनशैलीले नगरकोटीलाई ५ प्रश्न सोधेको छ :
बाल उदयको यात्रा कहाँ पुग्दैछ ?
बालबालिकाका लागि ‘बाल उदय’ मासिकको नयाँ अंक तयारीमा लागिरहेका छौं । डिजिटल माध्यमबाट बाल उदय पढ्न सक्ने एप्लिकेसन, वेभसाइट बनाउँदै छौं । यससँगै हामी आफैं बालसाहित्यका पुस्तक प्रकाशन गर्ने तयारीमा छौं ।
यसबाहेक ‘शाब्दिक बुक्स’बाट प्रकाशन हुने साहित्यिक पुस्तकको सम्पादन, व्यवस्थापनमा जुटेको छु । चाँडै नै शाब्दिकले पाठकलाई नयाँ पुस्तकको स्वाद चखाउनेछ ।
लामो समयसम्म शिक्षण पेसामा आबद्ध हुनुभयो, अहिले पनि त्यही सेरोफेरामा हुनुहुन्छ कि, छैन ?
कुनै क्षण शिक्षण पेशामा थिएँ । यसको अर्थ म अहिले शिक्षा क्षेत्रबाट अलग छु होइन । मैले पढाउने काम छाडेको हुँ । बालबालिकासँग नजिक रहेर गरिने कर्ममा म आनन्द पाउँछु । शिक्षा र साहित्य दुबैमा बालबालिकासँग संवाद गर्न पाइन्छ । यसैले म यो क्षेत्रबाट अलग्गिन सक्दिनँ ।
म सधैं शिक्षक र बालबालिकासँगै म हिंडिरहेको छु । अर्को कुरा, शिक्षा पाठ्यपुस्तकको घेराभित्र खोज्ने र पाउने चिन्तनको अन्त्य हुनुपर्दछ । शिक्षालाई ग्रेड, ¥याङ्क, रिपोर्ट कार्ड र डिग्रीमा मात्र हेरिने परिपाटी बदलिनु जरुरी छ । जीवनबाट छुट्टिएको पाटो बनाइनु हुन्न शिक्षालाई । यसका लागि पनि म लागिरेहेको हुन्छु ।
कविताको दौडमा आफ्नो उपस्थिति कस्तो पाउनुहुन्छ ?
कविताका बारेका फ्याट्ट टिप्पणी नगरिहाल्ने मेरो स्वभाव छ । व्यक्तिगत दृष्टिले कवि र कविताको गरिमामा ठेस पु¥याउने किसिमको कोण बनाउन चाहन्नँ । कविले कविता लेख्ने हो, कविता लेख्न नै मन पराउँछु ।
अघिल्लो वर्ष मेरो पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ प्रकाशित भएको छ । यसबाट धेरै प्रतिक्रिया मिलेको छ । समीक्षाहरू आइरहेका छन् । यसबीचमा केही नयाँ कविता, लेखहरू लेखेको छु ।
सृजनात्मक जीवनको यो यात्रामा अविस्मरणीय लागेका पलहरू सम्झनुपर्दा के सम्झनुहुन्छ ?
सिर्जना–यात्रा अविस्मरणीय पलहरूको पनि सिर्जना हो । सबै सम्झिएका पल बताउन थालें भने साँझ पर्नेछ । बिहान हुनेछ ।
स्कूल पढ्दाताक घट्टमा मकै पिँध्न जाँदा बाहिर बसेर कविता पिँधेको समय सम्झिन्छु । भित्र मकै पिँधिसकेर घट्ट घोट्टिएको गन्ध आएपछि मात्र म त यहाँ पो रहेछु भनेर थाहा पाएको पल । पहिलोपटक पत्रिकामा रचना छापिएको बेलाको हर्ष । कविता लेखेको पारिश्रमिक पाएर जुत्ता किनेको, कपडा किनेको, अरुको उपचार खर्च गरेको, साथीहरुलाई खाजा खुवाएको मधुर सम्झना । एउटा कविता लेखेको कारण दाङ, रोल्पा, प्यूठानको तीन दिने यात्रामा सहभागी हुने अवसर पाएको सुन्दर स्मृति ।
तत्कालीन माओवादी क्यान्टोनमेन्टमा बास बसेको झल्को । जागिरबाट कमाएको तलब खर्चेर पत्रिका प्रकाशन गरेको याद । जिल्लामा टिकटमा गजल उत्सव, बृहत साहित्य सम्मेलन र कविता वाचन शृङ्खलाहरु आयोजना गरेको जोश । प्रतिनिधि काभ्रेली कविता प्रकाशन गर्दाताकको संघर्ष ।
साहित्य, जीवन र समाजलाई एकैसाथ हेर्दा तपाईं के पाउनुहुन्छ ?
साहित्यले जीवनका कुरा लेख्छ । जीवनलाई आशावादी बनाइराख्न भूमिका खेल्छ । जीवन र समाजका सौन्दर्य साहित्यमा समेटिन्छन् । सामाजिक सौन्दर्य बृद्धि गर्न साहित्यले सघाउँछ । जीवन समाजमा साहित्यिक भएर बाँच्छ । सँगसँगै हिँडिरहने यात्री हुन् यी तीन कुरा । कहिले एकले अर्कोलाई लिड गर्न खोजेको जस्तो पनि देखिन्छ । अघिपछि, पछिअघि, यात्रा–यात्रा–यात्रा ।

क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस