चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति
चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।
सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।
पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।
चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई “सःशर्त” अनुमति दिइएको जानकारी दिनुभयो । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिनुभयो ।
चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भन्नुभयो, “कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं ।”
बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस