महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या (भिडियाे सहित)
कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।
विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेका अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकाे जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउँछन् । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ ।
फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ । दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको सङ्ख्या बढ्ने गरेको संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ । बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ । कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ । यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ ।
क्याटेगोरी : चाडपर्व विशेष, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस