एक मजदुरको बकपत्र
मलाई थाहा छैन
मैले बाँचिरहेको जीवनको आयु कति छ ?
थाहा छैन
मैले हिँडिरहेका बाटाहरू जीवनभन्दा कति लामा छन् ?
र थाहा छैन
ती लामा बाटामा मैले कति दूरी पार गर्न सक्छु !
सम्झन्छु–
हिजोका दिनमा हिँडेका बाटाहरू
जहाँ सधैं अनुमति लिएर हिँड्नुपर्थ्यो
हिँड्दा, कसैले ढिलो हिँड् भन्थ्यो
ऊ भने अघि लाग्थ्यो
कसैले नहिँड् भन्थ्यो
तर, आफूचाहिँ हिँडिरहन्थ्यो…
कसैले हिँड्नु पहिले नै सर्त लगाउँथ्यो
र एक्लो छाडेर दौडन्थ्यो
सर्तहरूको भारी बोकेर
र पनि हिँडिरहेँ…
यसरी हिँड्दा–हिँड्दा
जिन्दगीलाई भने छोट्याइरह्यो घडीको काँटाले
आफ्नै भएर पनि
आफ्नो नभए जस्तो
समय–
आफैंबाट फुत्किरहेको थाहै भएन
म भने कसै न कसैको कब्जामा भइरहें
दिनमा साहूको कब्जामा भएँ
रातमा परिवारको कब्जामा भएँ
धेरैपछि मैले थाहा पाएँ कि
म त एउटा बन्दी हुँ
जसको आफ्नै जीवनको लालपुर्जा पनि अर्कैसँग छ
र उसैले मनपरी भोगचलन गर्छ
पांग्राजत्तिकै कुद्ने मेरा गोडाहरू छन्–
स्टेरिङ र ब्रेक अर्कैसँग छ
जसले चाहेको बेला दौडाउन र रोक्न सक्छ
हथौडाजस्तै मेरा हातहरू छन्– रिमोट अर्कैसँग छ
जसले चाहेको बेला चलाउन र बन्द गर्न सक्छ !
यति बुझ्न पनि
मैले जीवनको लामै हिस्सा गुमाएछु
तर जीवन
जो पोहोरको वसन्तझैं फेरि फर्केर आउँदैन
अब त मसँग केवल बाँकी छन्
जीवनभन्दा बढी बाँचेका दुःखहरू
भारीभन्दा बढी गह्रुंगा चोटहरू
उत्खनन् नभएका इतिहासका कथाहरू
र, बाँकी छन् केही रहरहरू
जसलाई पूरा गर्नु छ अबका यात्राहरूमा
क्रुर समयको पञ्जाबाट फुत्किएर
बनाउनु छ सपनाहरूको स्केच
मैले बुझिसकें कि
जीवन रूखको हाँगा हैन
जो काटिए पनि फेरि पलाउन सक्छ
जीवन कुवाको पानी हैन
जति उभाए पनि फेरि भरिन सक्छ
जीवन त जराको आडमा उभिएको रूख हो
जुन ढल्यो भने फेरि उठ्ने छैन
जीवन त कुवाभित्रको मूल हो
जुन सुक्यो भने फेरि रसाउने छैन…
त्यसैले जोड्ने छु
अब एउटा खुसीको टुकी
जो, मेरो संसार उज्यालो बनाउन काफी हुनेछ ।
०००
(श्रम गरेर खानेहरूको मुक्तिको पक्षमा लेखिएको कवि समर्पण श्रीको यो कविता मजदुर दिवसको अवसरमा सान्दर्भीक ठानेर प्रकाशित गरेका छौं । कविको अनुमतिमा लिएर हामीले यसलाई पुनःप्रकाशन गरेका छौं । – प्रधानसम्पादक)
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस