• जीवनशैली | Jiwanshaili
  • एक मजदुरको बकपत्र


    मलाई थाहा छैन
    मैले बाँचिरहेको जीवनको आयु कति छ ?
    थाहा छैन
    मैले हिँडिरहेका बाटाहरू जीवनभन्दा कति लामा छन् ?
    र थाहा छैन
    ती लामा बाटामा मैले कति दूरी पार गर्न सक्छु !

    सम्झन्छु–
    हिजोका दिनमा हिँडेका बाटाहरू
    जहाँ सधैं अनुमति लिएर हिँड्नुपर्थ्यो

    हिँड्दा, कसैले ढिलो हिँड् भन्थ्यो
    ऊ भने अघि लाग्थ्यो
    कसैले नहिँड् भन्थ्यो
    तर, आफूचाहिँ हिँडिरहन्थ्यो…

    कसैले हिँड्नु पहिले नै सर्त लगाउँथ्यो
    र एक्लो छाडेर दौडन्थ्यो
    सर्तहरूको भारी बोकेर

    र पनि हिँडिरहेँ…
    यसरी हिँड्दा–हिँड्दा
    जिन्दगीलाई भने छोट्याइरह्यो घडीको काँटाले
    आफ्नै भएर पनि
    आफ्नो नभए जस्तो
    समय–
    आफैंबाट फुत्किरहेको थाहै भएन
    म भने कसै न कसैको कब्जामा भइरहें
    दिनमा साहूको कब्जामा भएँ
    रातमा परिवारको कब्जामा भएँ

    धेरैपछि मैले थाहा पाएँ कि
    म त एउटा बन्दी हुँ
    जसको आफ्नै जीवनको लालपुर्जा पनि अर्कैसँग छ
    र उसैले मनपरी भोगचलन गर्छ

    पांग्राजत्तिकै कुद्ने मेरा गोडाहरू छन्–
    स्टेरिङ र ब्रेक अर्कैसँग छ
    जसले चाहेको बेला दौडाउन र रोक्न सक्छ
    हथौडाजस्तै मेरा हातहरू छन्– रिमोट अर्कैसँग छ
    जसले चाहेको बेला चलाउन र बन्द गर्न सक्छ !

    यति बुझ्न पनि
    मैले जीवनको लामै हिस्सा गुमाएछु

    तर जीवन
    जो पोहोरको वसन्तझैं फेरि फर्केर आउँदैन
    अब त मसँग केवल बाँकी छन्
    जीवनभन्दा बढी बाँचेका दुःखहरू
    भारीभन्दा बढी गह्रुंगा चोटहरू
    उत्खनन् नभएका इतिहासका कथाहरू
    र, बाँकी छन् केही रहरहरू

    जसलाई पूरा गर्नु छ अबका यात्राहरूमा
    क्रुर समयको पञ्जाबाट फुत्किएर
    बनाउनु छ सपनाहरूको स्केच

    मैले बुझिसकें कि
    जीवन रूखको हाँगा हैन
    जो काटिए पनि फेरि पलाउन सक्छ

    जीवन कुवाको पानी हैन
    जति उभाए पनि फेरि भरिन सक्छ

    जीवन त जराको आडमा उभिएको रूख हो
    जुन ढल्यो भने फेरि उठ्ने छैन
    जीवन त कुवाभित्रको मूल हो
    जुन सुक्यो भने फेरि रसाउने छैन…

    त्यसैले जोड्ने छु
    अब एउटा खुसीको टुकी
    जो, मेरो संसार उज्यालो बनाउन काफी हुनेछ ।
    ०००
    (श्रम गरेर खानेहरूको मुक्तिको पक्षमा लेखिएको कवि समर्पण श्रीको यो कविता मजदुर दिवसको अवसरमा सान्दर्भीक ठानेर प्रकाशित गरेका छौं । कविको अनुमतिमा लिएर हामीले यसलाई पुनःप्रकाशन गरेका छौं । – प्रधानसम्पादक)


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस