सङ्क्रमणदरमा केही कमी
काठमाडौँ / काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो । अहिले पाँच प्रतिशत सङ्क्रमणदर घटेर ६५ मा आएको जनाइएको छ ।
अघिल्ला हप्ताहरुमा अत्यधिकरूपमा कोरोना सङ्क्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब सङ्कलनका लागि पाँचवटा केन्द्र बढाएर हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ, जसले गर्दा अघिल्लो हप्ताको तुलनामा केही कमी आएको छ”, उनले भने।
परीक्षण मात्रै होइन परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजेटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले तीन हप्ताअघि नै सम्झौता गरिसकेको छ । महानगरका सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।
कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।
हालसम्म महानगरपालिकामा ५९ हजार ४४५ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएको जनाइएको छ । हाल ११ हजार ४३ सक्रिय सङ्क्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा पाँच हजार ५४१, वडा नं १६ पाँच हजार ३५२ रहेको छ भने सबैभन्दा कम वडा नं १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणकै कारण हालसम्ममा ४०५ ले ज्यान गुमाएका छन् ।
महानगरमा हाल रहेका सङ्क्रमितमध्ये १० हजार ३६८ होम आइसोलेशनमा छन् भने १२८ जना संस्थागत आइसोलेशनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस