• जीवनशैली | Jiwanshaili
  • वानीरा गिरिका दुई कविता


    १. चोट

    चोट
    तिम्रो परशुको
    सशक्त प्रथम प्रहार
    मैबाट सुरु गर
    दुइ आँखाका कुलाबाट
    यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
    आँखा खडेरी परून् मेरा
    हरिया बनून् खेत तिम्रा
    र पाकिरहून् चोटका बालीहरू
    र पाकिरहून् चोटका बालीहरू
    तिमी र म
    मितेरी लगाई एकाकार बनौं
    सदा-र्सवदालाई ।
    कति घतलाग्दो
    एक दिन
    सम्सांझै
    दोबाटोमा तिमीसित
    जम्काभेट भयो ।

    मैले आफूलाई सम्हाल्न नपाउंदै
    एक्कासि बलात्कार गर्यौ तिमीले
    त्यस बेलाका
    ती क्रूर आत्मीय क्षणका साक्षी
    रगतका कुमारी टाटाहरू
    सर्जमिन नभएका बेवारिसे लासजस्तै
    छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा
    हरेक चोटि
    हरेक दिन
    हरेक प्रहर
    हरेक पल
    ओहोरदोहोर गर्दा ती टाटाहरूले
    झवास्स-झवास्स
    मलाई दिलाइरहन्छन् तिम्रो सम्झना
    र चोट यस्तरी अब ता
    तिमी मेरो
    सम्झना बनिसकेका छौ ।

    चोट
    पहिले-पहिले
    तिम्रो हरेक प्रहार मेरा निम्ति
    आगोको मुस्लो हुन्थ्यो
    कांडाको बिझाइ हुन्थ्यो
    खुकुरीको धार हुन्थ्यो
    औंसीको रात हुन्थ्यो
    तर आजभोलि
    तिम्रो हरेक प्रहार एउटा र्स्पर्श बनेको छ
    म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
    कांडा उम्रने झयाङ बनेकी छु
    खुकुरी राख्ने दाप बनेकी छु
    गोमनको विषालु दांत बनेकी छु
    औंसीको अंधेरी रात बनेकी छु ।

    सर्कसमा रत्याएजस्तै बघिनीलाई
    चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
    चोट
    तिमीले कति चांडै रत्यायौ मलाई
    अब त
    तिमी र म
    नङ र मासु बनेका छौं
    कृपण र पैसा बनेका छौं
    चोर बाटो र पैताला बनेका छौं
    हिंड ममाथि
    सम्पूर्ण चोरी र डकैतीका साथ
    यो निश्चय छ
    तिमी थाकौला
    म थाक्तिनं ।
    ममा उम्रेका
    जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
    तिम्रा विध्वंसक आंधीबेरीका झोक्काहरू
    लेसोत्तर पारिदेऊ
    ध्वस्त पारिदेऊ
    चोट
    तिम्रो भीमकाय स्वरूपले गांज मलाई
    तिम्रा लपलपाउंदा
    डढेलाका जिब्राहरुले चाट मलाई
    तर उल्टो
    थेत्तर बनेर
    तिम्रा चोटैचोट थन्काउने तोपखानामा
    मुन्टो लुकाउन आउंछु म
    दाग चारैतिरबाट गोली नै गोली
    बर्सर्दा चारैतिरबाट आगो नै आगो
    दाग चारैतिरबाट गोली नै गोली
    बर्सर्दा चारैतिरबाट आगो नै आगो
    तर पक्का हो
    कान फोरेर सुन चोट
    तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ
    तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ ।

    २. सखा ! जून र घाम पनि हौ तिमी

    भन्नेहरू त
    कतिसम्म भन्छन्‌ भने-
    तिम्रो हृदयको नदेखिने पानामा
    सम्भवत: एउटा प्रणयी-अक्षर कोरिएको थियो रे !

    कुन हौ त्यो अक्षर ?
    के हो त्यो अक्षर ?
    को हो त्यो अक्षर ?

    तिमी स्वयम्‌को खोज त होइन त्यो अक्षर ?
    अथवा मेरो तिमीसँगको
    अनवरत यात्राको शिरबन्दी त होईन त्यो अक्षर ?

    जो तिमी ‘आमाको सपना’ पछिपछि,
    दौँडँदै-दौँडँदै, खोज्दै-खोज्दै, भौतारिँदै-भौतारिँदै
    तिम्रो जन्मथलोमा आएकी थिई-

    तिमीलाई जान्ने, तिमीलाई हेर्ने
    तिमीलाई बुझ्ने, तिमीलाई बेहद माया गर्ने

    एक बिछट्टै अद्भूत
    नक्षत्रको आविष्कारमा
    आफूलाई समर्पित गर्ने दृढ आत्मविश्वासका साथ
    ढक्क जन्मेकी थिई त्यहाँ

    तिम्रो हृदयको नदेखिने पानामा
    एउटा सम्बोधन कँद्छु, खोप्छु-

    सखा !
    यस हिमवत्‌ खण्डका
    शिखर-चुलीहरूलाई साक्षी राख्दै

    तिमी मेरा संज्ञा हौ
    म तिम्रो अभिशून्यताबाट अभिसिञ्चित

    अभिमन्त्रित संज्ञा

    मैरा निम्ति
    शारदीय आकाशका
    बडेमाको जून थियौँ तिमी

    त्यति मात्र हो र ?
    शाश्वत शारदीय आकाशको
    जून र घाम पनि तिमी

    ए !
    प्रतीक र विम्बका अबोध अस्त्रधारी योद्धा
    अक्षरका पण्डित्याइँमा जुङ्गा मुसार्ने
    कसैले पनि छुन सक्दैन तिमीलाई
    तिम्रो ओजस्वी प्रभामण्डललाई

    म-
    एक निस्पृह निहारिका तिमीमा

    सखा !
    जिन्दगीको सर्वाधिक उर्वर कालमा
    भावना र संवेदनाले समृद्ध तिमी

    आमाको
    शक्तिशाली कोमल कोखमा
    लहलह उम्रेका क्रान्ति जमराहरू
    अँगालाभरी भरी सँगालेर

    संसारै घन्कने गरी
    कस्तरी गाएका थियौँ
    ‘आमाको सपना’को
    त्यो दुर्लभ कर्खा-गान

    ‘त्यो आउँछ ?’
    भनेर प्रश्न गर्ने तिमी
    स्वयम्‌-
    उत्तरमा रूपान्तरित भइरहेथ्यौँ

    महाक्रान्तिका
    अति ओजस्वी अक्षरहरूलाई
    झण्डाकै फहराउँदै थियौँ तिमी

    साइतको जुजुघौँ लिएर
    उभिएकी तिमी प्रणयिनी
    तिम्रो हृदयको नदेखिने पानामा
    कोरिएको प्रणयी अक्षर त होइन ?

    बिन्ती
    नढाटी भन त-

    त्यो अक्षरको नाम प्रणयिनी तै हो ?
    त्यो अक्षरको नाम आमा नै हो ?

    त्यो अक्षरको नाम क्रान्ति तै हो ?
    त्यो अक्षरको नाम क्रान्ति मात्र त होवोइन ?

    त्यो अक्षरको नाम महाक्रान्ति नै हुनुपर्छ ।
    सखा !
    घना अन्धकारले
    यत्रतत्र ढाकिएको नक्षत्रमा
    उधुमै उज्यालो सपनाको
    एक प्रणयी फब्ल्याटो दियौ मलाई

    अर्को फब्ल्याटो आफ्नै छातीमा टाँसेर
    सात समुद्रको जलमय सतहमा
    छप्छप्‌ छप्छप्‌ गर्दै
    अद्यापि ओहोरदोहोर गर्दैछौँ तिमी
    अद्यापि ओहोरदोहोर गर्दैछौँ तिमी ।

    (प्रस्तुत कविता मेरो अती प्रिय र पूज्य कवी गोपालप्रसाद रिमालमा सादर समर्पण गर्दछु)
    ०००

    अल्जाइमर्स रोगबाट पीडित साहित्यकार डा. वानीरा गिरिको हृदयाघातबाट जेठ९ गते आइतबार राति १० बजे निधन भएको थियो । नेपाली साहित्यमा पहिलो पटक पिएचडी गर्ने महिला अध्येता गिरिले गोपालप्रसाद रिमालका कवितामाथि पिएचडी गरेकी हुन् ।

    डा. गिरिको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो।  राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एम्ए पढ्न काठमाडौँ आई २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध गिरिले २०४२ सालमा पीएचडी गरेकी हुन् ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस