• जीवनशैली | Jiwanshaili
  • कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय


    काठमाडौं, १६ असार

    हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडांैमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् ।

    हैजा के हो, कसरी लाग्छ ?

    यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।

    यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ ।

    लक्षणहरू

    संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

    – निरन्तर अधिक पातालो दिसा लाग्नु
    – पटकपटक वान्ता आउनु
    – पेट वा खुट्टाको मासपेशी बाउडिनु
    – आँखा गढ्नु, छाला चाउरी पर्नु
    – धेरै तिर्खा र थाकान लाग्नु
    – धेरै कमजोरीका कारण वेहोस हुनु

    रोकथामका उपाय

    – सरसफाइमा ध्यान दिने
    – संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने
    – फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
    – खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
    – सकेसम्म उमालेको पानी पिउने
    – फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने
    – पानीको मुहान सफा राख्ने
    – शौचालयमा मात्र दिसापिसाब गर्ने

    उपचार

    – पुनर्जलीय झोलको सेवन गर्ने
    – चिकित्सकको परामर्श लिने

    हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ।


    क्याटेगोरी : फिचर, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस