पश्चिमान्चल अस्पतालमा क्याथ ल्याब, पोखराबाटै मुटुको उपचार हुने
पोखरा, ३१ असार
गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो ।
करिब सात करोड लगानीमा रोटरीले क्याथ ल्याब सन्चालनमा ल्याएपछि मुटुका विरामीले पोखराबाटै उपचार पाउने भएका छन् । यसअघि महंगो शुल्क तिरेर काठमाडौं र भारतसम्म उपचारका लागि जानुपर्ने विरामीले अब पोखरामै उपचार पाउने भएका हुन् ।
केही समयअघि अस्पतालले पोखरामै मृगौलाको सफल प्रत्यारोपण पनि गरेको छ । योसँगै जटिल रोगका विरामीको उपचार अब पोखराबाटै हुने गरी उपकरण जडान गरिने स्वास्थ्यमन्त्री भवानी खापुङले बताए । क्याथ ल्याब हस्तान्तरणमा उनले मुटुको उपचारमा संघ सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘मुटु निकै संवेदनशील छ । सामान्य विरामी हुँदा पनि हेलिकोप्टर चढेर काठमाडौं जानुपर्ने अवस्था हिजोका दिनमा थियो,’ उनले भने, ‘अब पोखरामै उपचार हुन्छ । स्वास्थ्य सेवा केही सुलभ र सस्तो भएको छ । यो खुसीको कुरा हो ।’
पोखराका मेयर धनराज आचार्यले पनि दातृनिकायसँग मिलेर आफूहरूले पोखरामा गुणस्तरीय स्वास्थ्य सेवाको हब बनाउने बताए । ‘दातृ संस्था र सामाजिक संघ स्थाको ठूलो भूमिका हुन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकारको मातहत छ । तर सेवा दिने हाम्रै हो,’ उनले भने, ‘हामी यसलाई स्वास्थ्यको हवका रूपमा विकास गर्न चाहन्छौं । संघ सरकारले र प्रदेश सरकारले पनि सहयोग गरोस् ।’
रोटरी इन्टरनेसनलका अध्यक्ष शेखर मेहताले पोखराको सरकारी अस्पतालमा क्याथ ल्याब स्थापना गर्दा खुसी लागेको बताए । यसअघि पनि रोटरीले अस्पतालमा ह्वील चियर, उपकरण, औषधिलगायत करोडौंको सहयोग वर्षेनी गर्दै आएको छ । अब आँखा अस्पताल निर्माणका लागि आफूहरू जुटेको मेहताको भनाइ छ । उक्त क्याथ ल्याब प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।
क्याटेगोरी : ताजा अपडेट, स्वास्थ्य शैली, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस