• जीवनशैली | Jiwanshaili
  • सुनील शेट्ठी सुपरस्टार हुन नसक्नुकाे पाँच कारण


    मुम्बई, २६ साउन

    बलिउडको लोकप्रिय अभिनेताको नाम लिने हो भने सुनील शेट्ठी छुट्दैनन् । उनले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरे, जुन फिल्मलाई दर्शकले उति नै मन पराए । तर पनि उनी बलिउडमा सुपरस्टार हुन सकेनन् ।

    उनीसँगै काम गरेका अजय देवगन, अक्षय कुमार र सलमान खानसहितका कलाकारले सुपरस्टारको स्टारडम हासिल गरिसकेका छन् । यसको अर्थ यो होइन कि सुनीलले कम मेहनत गरे । तर सुनीलले करियरमा केही गल्ती गरे, जसकारण उनी सुपरस्टारको सूचीमा समेटिन सकेनन् । उनी सुपरस्टार हुन नसकेका पाँच गल्ती यहाँ उल्लेख छः

    करियरमा फोकस नगर्नु

    सुनीलले सन् १९९२ मा रिलिज फिल्म ‘बलवान’बाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको यो फिल्मले व्यापार राम्रो नगरे पनि उनको अभिनयको राम्रो तारिफ भएको थियो । त्यसपछि उनले ‘मोहरा’ र ‘दिलवाले’ जस्ता हिट फिल्ममा अभिनय गरे । यसपछि उनले कैयौं फिल्ममा काम गरे र आफूलाई एक्सन हिरोका रुपमा बलिउडमा स्थापित गरे । तर उनले विस्तारै विस्तारै आफ्नो करियरमा फोकस गर्न छाडे । यसको कारण उनी व्यापार व्यवसायमा लागे र फिल्मतिर कममात्र ध्यान दिन थाले ।

    टाइपकास्ट भूमिका

    उनले आफ्नो करियरमा ‘सुरक्षा’, ‘टक्कर’, ‘रक्षक’, ‘सपूत’ जस्ता फिल्ममा एक्सन देखाए । उनले हरेक फिल्ममा आफ्नो छविलाई एक्सनमा ढाले । एकै किसिमको भूमिकामा देखिन थालेपछि दर्शकले उनीतिर बढी ध्यान दिन सकेनन् । अर्थात् टाइपकास्ट भूमिकाले उनको करियरमा धक्का पुग्यो ।

    सहायक भूमिका

    उनले प्रमुख भूमिकासँगै केही फिल्ममा सहायक भूमिकामा पनि अभिनय गरे । ‘मोहरा’ र ‘दिलवाले’ जस्ता सुपरहिट फिल्ममा उनी सहायक भूमिकामा देखिए । उनले सहायक भूमिकामा अभिनय गर्नु आफ्नो लागि गलत ठानेनन् । यही कारण पनि उनी सुपरस्टारको दौडबाट बाहिरिनु पर्‍यो ।

    मार्केटिङको अभाव

    सुनीलले आफ्नो समयमा अजय, सलमान र अक्षयको जस्तो आफ्नो मार्केटिङ गरेनन् । यही कारण उनी प्रमुख भूमिकामा फिल्ममा काम कम पाउन थाले । उनको लोकप्रियतामा कमी त थिएन, तर प्रमुख भूमिकामा उनलाई फिल्ममा लिन निर्माता नै डराउन थाले ।

    दोस्तीका लागि फिल्म

    बलिउडमा स्टारको दोस्तीलाई प्राथमिकता दिइन्छ । सुनील पनि ती कलाकारमा पर्छन्, जसको राम्रा साथी बलिउडमा छन् । उनले कतिपय फिल्म साथीकै लागि गरे । तर ती फिल्मले उनको करियरलाई उल्लेख्य उठान गरेन ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस