दशैँको पिङ सम्झनामा मात्रै

केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । युवाको अभावका कारण दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका छन् ।
दशैँमा बनाइने काठे पिङका लागि आवश्यक काठसमेत पछिल्लो समय लोप हुँदै गएको छ । पहिलेपहिले चमच्चाका लागि प्रयोग गरीने खिर्रोको रुख अहेले घरछेउका डहरमा देखिँदैनन् । खिर्रोको काठ नभएसम्म काठे पिङ बनाउन कठिन हुने रेशका युवराज शर्मा बताउनुहुन्छ ।
काठ मात्रै होइन पिङ बनाउने ठाउँकोसमेत अभाव छ । निजी जमीनमा धान कोदो फलेको छ भने सार्वजनिक जमीनमा कतै सामुदायिक भवन त कतै विद्यालयका भवन बनेका छन् । बाँकी रहेका सार्वजनिक जमीनकोसमेत उपयोग हुन नसक्दा पिङ बनाउने ठाउँमा जङ्गल बनेको जैमिनी नगरपालिका–१ कुश्मीशेराका शिक्षक उमाकान्त शर्माले बताउनुभयो ।
घरघरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैन । दशैँका बेला राखिने पिङ चमच्चा खेल्नेको भीड देखापर्न छोडेको छ । गाउँघरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् । उनीहरुले काठको प्रयोग गरे चमच्चा बनाउन सक्दैनन् । काठ बोक्नसक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशका ठूला शहर छिरेका छन् ।
दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् । पिङ हाल्नका लागि गाउँमा बाबियोसमेत पाइन छाडेको छ । “दशैँका लागि पिङ हाल्नलाई वस्तुबाट जोगाएर बाबियो राख्ने गरिथ्यो”, स्थानीय दीलबहादुर थापाले भन्नुभयोे, “चमच्चाका लागि दुई महीनादेखि तयारी गर्नुपथ्र्यो अहिले हरायो, बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने शीप नयाँ पुस्तामा छैन ।”
गाउँमा बसोबास गर्ने अधिकांश मानिस सहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको जैमिनीका कृष्ण शर्माले बताउनुभयो । शहर बजारमा पाइने यतारी पिङ बाह्रै महीना खेल्न पाइने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको उहाँको अनुमान छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस