बडा दशैंमा ठूलाबडाको सन्देशः ‘गच्छेभन्दा बाहिरको तडकभडक नगरौं’

काठमाडौं नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले शुभकामना सन्देश जारी गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छन् ।
“हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन् ।
हाम्रो देशमा मनाइने सबै चाडपर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आईरहेका छन् भन्दै उपराष्ट्रपतिले सन्देशमा विजयादशमीकोे माध्यामबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
‘
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् ।
बडादशैँ २०७६ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिँदै ओलीले भनेका छन्, ‘दशैं भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।’
प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरणः
‘‘दिदीबहिनी तथा दाजुभाइहरु,
हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।
यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् ।
यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।
चाडहरु बढी खर्चालु नहून् । हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ ।
आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादशैँका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै धेरै शुभकामना ।’’
यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन्।
विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताए।
नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा भनेका छन् ।
“मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ”, सन्देशमा उनले भनेका छन्।
सभापति देउवाले नेपाली काङ्ग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन्।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस