• जीवनशैली | Jiwanshaili
  • स्वस्थानी व्रतकथा, भाग – २२ (सप्तर्षिद्वारा स्वस्थानी व्रतको उपदेश)


    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! आफ्ना पिताका खोजीका निमित्त घरबाट नवराज गएका लगतै केही दिनपछि उनकी पत्नी चन्द्रावतीले सासूसित भनिन् – ‘हे माताजी ! म आफ्नो माइत नगएको लामो समय भयो । यहाँ हामी दुई जनालाई खाने अन्न र लाउने वस्त्रको साह्रै कष्ट छ । अर्काकै घरमा गएर मागेरमात्र कति निर्वाह होला ? यसकारण, म अलिक दिन माइत जानुपर्यो, यहाँ तपाईं एकजना मात्र हुनु भए एक पेटमात्र पाल्न धेरै सजिलो पर्ला ? तपाईं आफ्ना जिउ र घरको स्याहारसुसार गरी बस्नु र आफ्नो छोरा आउने बितिक्कै मलाई लिन पठाउनुहोला ।’ यति भनी सासूलाई दण्डवत् प्रणाम गरी चन्द्रावती माइती घरतिर हिंडिन् ।

    बुहारी गएपछि गोमा ब्राह्मणीलाई अरु दुःख र कष्ट बढे । आफ्ना दुःखका दिन देखेर उनले भिक्षुकरूप महादेवले श्राप गरेको सम्झिएर मनमनमा भन्न लागिन् – ‘म सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित विवाह भएथ्यो । वहाँ पनि मलाई गर्भवती अवस्थामा छोडी भिक्षा माग्न भनी घर छोडी जानुभएको यतिका वर्ष बितिसक्दा पनि फर्किनु भएन । छोराको मुख हेरी दुःख बिर्सिएकी थिएँ, ऊ पनि आफ्ना बाबाको खोजीमा गएको अझै फर्किएन । बुहारी त बसेकै छे भन्ने थियो, उसले पनि मलाई छोडेर माइततिर गई । मेरो त कतै जाऊँ भने पनि ठाउँ छैन । हे परमेश्वर ! मैले जोजो बिराएँ, ती सम्पूर्ण अपराध क्षमा गर, कि त यो अलिकति रहेको प्राण नै लैजाऊ ।’ यस्तै अनेक तर्क गर्दीछँदी गोमा ब्राह्मणी अविरल आँसु बँगाई रोई कराई अचेत जस्ती भईन् । सचेत भएपछि विगतका कुरा सम्झी पछुतो गर्दै भन्न लागिन् – ‘उस दिन मलाई श्राप दिने भिक्षुक महादेव नै रहेछन्, त्यही श्रापको परिणाम अहिले यतिवेला मैले भोग्नु पर्दैछ । हे जगदीश्वर ! हे आशुतोष ! बाल्यावस्थामा अज्ञानताले गरेको मेरो त्यो अपराधालाई क्षमा गरी मलाई यो असहाय दुःखकष्टबाट पार गर । पार गर्न नसके मेरो यो प्राण नै हर ‘ भनी बलिन्द्रधारा आँसु झारी रुन लागिन् ।

    गोमामाथि आई लागेका यी दिनदशा र उनको यस्तो अवस्था भएको कुरा कैलाश पर्वतमा पार्वतीले थाहा पाउनु भयो र महादेवसित बिन्ती गर्नुभयो – ‘हे महेश्वर ! चन्द्रज्योति नगरमा गोमा ब्राह्मणीले पाएको दुःखकष्ट देख्दा मेरो हृदय दयाले द्रवीभूत भयो । ती पनि हजुरबाट नै पाणिग्रहण गरिएकी हजुरकी पत्नी हुन् । तिनलाई अब यहाँभन्दा बढी दुःख दिनु उचित छैन । हे दयानिधे ! आज्ञा पाए ती गोमालाई स्वास्थानी परमेश्वरीको व्रत गराउने थिएँ, जसका प्रभावले गरिकन दुःखका सागरबाट तिनले पार पाउने थिईन् ।’ पार्वतीले गरेको यो बिन्ती सुनी प्रसन्न भएर महादवले ‘हे प्रिय ! हुन्छ त्यसै गर’ भनी आज्ञा भयो । यति आज्ञा पाएर पार्वतीले सप्तऋषिहरूलाई डाकी भन्नुभयो – ‘हे ऋषिगण ! तपाईंहरू मर्त्यमण्डलको चन्द्रज्योति नगर भन्ने ठाउँमा जानुहोस् । त्यो नगरका कुनै एक छेउ अथवा कुनापट्टि साह्रै दुःख र कष्टले रहेकी गोमा नाउँ गरेकी ब्राह्मणीको पत्तो लगाई उनलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई आउनुहोस् ।’ यति भनी व्रतको सम्पूर्ण विधि समेत सप्तर्षिलाई बताउनुभयो । पार्वतीबाट पाएको आज्ञालाई शिरोधार्य गरी सप्तऋषिहरू मर्त्यमण्डलको चन्द्रज्योति नगरमा पुगे । सहर प्रवेश गर्नुअघि बाहिरपट्टि रहेका गाईवस्तु गोठालो गर्ने केटाकेटीहरूसित ‘यहाँ दुःखीको छ ?’ भनी सोधनी गर्दा तिनले भने – ‘यो चन्द्रज्योति नगरभित्र दुःखी कोही छैनन् । सबै नै सुखले परिपूर्ण छन्, तर सहरका बाहिर भने कोहीकोही दुःखी होलान्, ती मध्ये गोमा नाउँ गरेकी एक ब्राह्मणी चाहिं अत्यन्त दुःखी छिन् । त्यहाँ गई सबै कुरा बुझ्नुहवस् ।’ यति भनी तिनले केही पर रहेको गोमाको झुपडी पनि देखाई दिए । सप्तऋषि पनि त्यहाँ पुगी बाहिरबाट गोमालाई बोलाए । बोलाएको सुनी गोमा आफ्ना झुपडीबाट बाहिर निस्किईन् र लहरै उभिरहेका सातजना दिव्यरूपका ऋषिहरूलाई देखी प्रणाम गरिन् । सप्तऋषि आएका हुन् भन्ने चिनेपछि आदरपूर्वक भित्र लगी आसनमा बसाली हात जोडेर सोधिन् – ‘हे ऋषिवृन्द ! आज मजस्ती पापिनीका घरमा पाउ कष्ट गरी मलाई दर्शन दिनुभयो र मेरो घर पनि पवित्र गराई दिनुभयो, सो के का निम्ति हो ? आज म धन्य हुन पाएँ ? मेरो यति ठूलो भाग्योदय हुनुको के कारण हो ? आज्ञा हवस् ।’

    गोमाका कुरा सुनी सप्तऋषिहरूले – ‘हे गोमा १ तिमिले आफूलाई किन पापिनीको संज्ञा दियौ रु तिमी त महान् धर्ममूर्ति माता हौ । केवल तिमीलाई यस बखतमा ज्यादै दुःखिनी हुनु परेको छ । तिमीलाई यस्ती दुःखी देखेर नै जगदम्बा पार्वतीका आज्ञाले आज हामी यहाँ आई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई तिम्रो उद्धार गर्ने मनसुवा लिएका छौं । त्यो व्रतको महिमा सागरभन्दा गहिरो छ । व्रत गर्ने विधि जो छ, त्यो एकचित्त भई सुन । अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत गर्नुभएको हो । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी, स्नान गरी शुद्ध भई पूर्णिमाका दिनदेखि नित्यस्नान गरी, मन, वचन र कर्मले पवित्र रही, एकचित्त गरी, एकभक्त रही, एक महिनासम्म नित्य मध्याह्न कालमा महादेवको पूजा गर्नू र माघ शुक्ल पूर्णिमाका दिन व्रतको उद्यापन साङ्गे गर्नू । त्यो दिन एक सय आठ रोटी, एक सय आठ जनै, एक सयआठ कुड्का सुपारी, नङले उधारेका नभाँचिएका र सग्ला एक सय आठ अक्षता, एक सय आठ अक्षता, एक सय आठ विभिन्न जातका फूल, यस्तै भेटी, पान, विल्वपत्र, सूत्र, फल, नरिवल, मेवामिष्ठान्न, बाती आदि पनि एक सय आठ कै सङ्ख्याले आफ्ना शक्तिअनुसार सकेसम्म जुटाउनू । जुटाउन नसकेमा शुद्ध मनले भक्ति पुर्याई आर्सीमा ‘ॐकार’ लेखी गङ्गाजलले स्नान गराउनू, त्यसपछि षोडशोपचार वा पञ्चोपचार विधिले श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नू । रातो फूल, रातो चन्दन, सिन्दूर, धूप, बाती, पञ्चामृत आदि जुटेका सामाग्रीहरूले पूजा गरी पुष्पाञ्जली, आरती गर्नू र श्री स्वस्थानी परमेश्वरीको कथा सुन्नू अथवा आफूले पढ्नू र अरुलाई पनि सुनाउनू, सुन्ने कोही नभए आफ्नै ओछ्यान,खाट, घैंटो, भाँडाकुँडा आदि आफ्ना दिनहु प्रयोग गरिने र गरिखाने साधन जेजे छन्, तिनलाई नै सुनाउनू । पूजा र कथाका अन्त्यमा जुन कामनाको सिद्धिका निम्ति व्रत लिईएको छ त्यो सम्झिई मेरो फलानु कामना सिद्ध होस् हे परमेश्वरी १ भनी अर्घ्य चढाउनू, जप गर्नू र ध्यान गर्नू । हे गोमा १ ती श्री स्वास्थानी देवी भनेकी कस्ती छन् भने –
    सुर्वणवर्ण दीप्ताभां त्रिनेत्रां कमलासनाम् । सिंहासनसमासीनां सर्वालङ्कार भूषिताम् ।।
    नीलोत्पलधरां वामे दक्षिणे वरदां शुभाम् । खड्गचर्मधरां चोर्ध्वं वामदिक्षणयो स् क्रमात् ।।
    एवं ध्यात्वा महादेवीं स्वस्थानीं परमेश्वरीम् ।

    सुवर्णभन्दा पनि पीत वर्णको दिव्य सुन्दरताले युक्त भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं उज्यालो मुहार भएकी, सिंहका पीठलाई आसन गरेर रहेकी, सम्पूर्ण अलङ्कारहरूले विभूषित भएकी, चार हातले युक्त, तीमध्ये दायाँ पट्टिका दुई हातमा एकमा खड्ग र अर्कामा वरमुद्रा (भक्तलाई दिने वरदान) लिएकी, बायाँपट्टिका दुई हातमा एकमा नीलोत्पल र अर्कामा चर्म लिएकी श्री स्वस्थानी परमेश्वरीको ध्यान गर्नू र महादेवको पनि त्यहीं नै पूजा गर्नू । माथि वर्णन गरिएकी श्री स्वस्थानी परमेश्वरीलाई आफ्ना हृदयकमलमा राखी यो श्लोकले स्तुति गर्नू –नमस्तेऽस्तु जगन्मातः ! स्वस्थानी सर्वमङ्गले । तव प्रसादाद् देविशि ! व्रतपूर्णः तवाऽज्ञया ।।(हे जगज्जननी ! हे स्वस्थानी ! हे मङ्गल स्वरुपिणी ! हे देवी ! हे ईश्वरी ! हजुरलाई मेरो बारम्बार प्रणाम छ । हजुरका आज्ञाले, हजुरका वरप्रसादले मेरो व्रत पूर्ण हवस् ।)

    यसरी ध्यान र स्तुति गरिसकेपछि अघि पूजा गर्दा चढाइएका एक सय आठ, एक सय आठमध्ये आठ रोटी, आठ अक्षता, आठ वेली पुष्प, आठ कुड्का सुपारी, आठ सूत्र, आठ पान, आठ जनै, आठ फल आदि सगुनसमेत आफ्ना पतिलाई दिनू, पति नभए पुत्रलाई दिनू, पुत्र नभए मित्रलाई दिनू । यीमध्ये कोही पनि नभए मेरो फलानु मनोइच्छा सिद्ध हओस् भनी शाली नदीको गङ्गामा बगाई दिनू, गङ्गामा पुग्न नसके कुनै अरु नदी, खोला, पोखरी वा तलाउमा लगी विसर्जन गरी आउनू र चढाइएका पदार्थमध्येका एक सय एक सय नैवैद्य जति आफूले प्रसादका रूपमा ग्रहण गर्नू । बाती बाल्नू, सूत्र लगाउनू र उपभोग्य सामाग्रीलाई आफैले उपभोग गर्नू । त्यो रात्रीमा जागा रहेर कीर्तन, भजन, गायन र नृत्यद्वारा ‘श्री स्वस्थानी परमेश्वरी’लाई सन्तुष्ट गराउनू । हे गोमा ! यति गरेपछि श्री स्वस्थानी परमेश्वरीका अनुग्रहले तिम्रा सबै दुःख र कष्ट नाश हुनेछन् । यसै व्रतका प्रभावले पार्वती देवीले महादेव स्वामी पाउनु भएको हो । लौ अब तिमीले माता स्वस्थानीको व्रत लिने बुद्धि ग्रहण गर, हाम्रो भन्नु यत्ति हो, अब हामी पनि आफ्ना स्थानमा जान्छौ’ भनी सप्तऋषिले हिंड्ने मन गरे । ऋषिहरूले विदा मागेपछि गोमा ब्राह्मणीले हात जोड्दै अनुरोध गरिन्– ‘हे ऋषीश्वर हो ! तपाईंहरूका कृपाले स्वास्थानी परमेश्वरीको महिमा र व्रतको विधिसमेत मैले सुन्न पाएँ । म यस्ती दुखियाका झुपडीमा आई मलाई कृतार्थ गराउनु भयो । मैले केही आतिथ्य सत्कारसम्म पनि गर्न पाएकी छैन । पसलमा गएर म पान किनेर ल्याई आतिथ्य सत्कार गर्छु अनि मात्र जानुहोला भनी चर्खामा रहेको धागोको लरिया बेची पान किन्न भनी त्यो लरिया लिई ऋषिहरूलाई घरैमा छाडी उनी बाहिर निस्किईन् । गोमा पान किन्न भनी गएपछि उनको दुःखकष्ट देखेर सप्तऋषिलाई साह्रै दया लाग्यो र सात ओटा सुनका कौडी आफूहरू बसेको आसनमुनि छोडी गोमा आईपुग्नु अघिनै उनीहरू त्यहाँबाट प्रस्थान गर्दा भए ।’

    इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां सप्तर्षिद्वारा गोमायाः कृते स्वास्थानी-व्रतविधि-कथनं नाम त्रयोविंशोऽध्यायः ।।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस