• जीवनशैली | Jiwanshaili
  • गङ्गा दशहरा पर्व मनाइदै


    दमौली, २० जेठ / जिल्लामा बसोबास गर्ने दरै जातिले गङ्गा दशहरा पर्व मनाएका छन् । विशेषगरी व्यास नगरपालिकाभित्र बसोबास गर्दै आएका ती जातिले दुई दिन चण्डी पूजा, खम्बेदेवी तथा आगो पुजेर दशहरा पर्व मनाएका हुन् ।

    व्यास नगरपालिकाका भादगाउँ, साँखर, कलेस्ती, चिन्तुटार, दुम्सीचौरलगायत गाउँका दरैहरुले गिदरीको काठलाई जुधाएर आगो निकालेर पुज्दै घरमा आगो भित्र्याएका छन् । दशहराको अघिल्लो दिन चण्डी, भँयर र देउरालीको पूजा अर्चना गरिन्छ भने भोलिपल्ट खम्बेदेवीलाई पुजेर अग्निको पूजा गर्ने प्रचलन रहेको व्यास नगरपालिका–७ कलेस्तीका जितबहादुर दरैले बताउनुभयो । बन्दाबन्दी जारी रहेकै अवधिमा ४६ घर दरै परिवारले सुङ्गुर, परेवा र कुखुरा बली दिएर पर्व मनाएको उहाँले बताउनुभयो ।

    नदीको किनारामा बसोवास गर्ने सीमान्तकृत ती जातिले खेती राम्रो होस्, चट्याङ नपरोस्, गाउँमा कुनैपनि अप्रिय घटना नहोस् र रोगको सङ्क्रमण पनि नफैलियोस् भनेर चण्डीदेवीको पूजा गर्ने चलन रहेको दरै जातिका पुजारी रामु दरैले जानकारी दिनुभयो । उहाँका अनुसार चण्डीदेवीको पूजा गर्दा हलो, धानको बाला, खनायोको फल र कुखुराको फूल र डेग्वा (चामलको पिठोबाट मःम जसरी बनाइएको रोटी) लाई सुङ्गुरको बलि दिएर पूजा गर्ने प्रचलन रहेको छ ।

    देवीको प्रसादको रुपमा सुङ्गुरको टाउको पकाएर सबैले जाँडसँग खाने र अरु मासुलाई भाग लगाएर घरमा प्रसादको रुपमा लैजाने प्रचलन दरै जातिमा रहँदै आएको छ । गिदरीको काठहरु जुधाएर आगो निकाल्ने र उक्त आगोलाई फूलपाती, अक्षता र जाँडले पूजा गरी सबैले ल्याएको दाउरामा आगो सल्काएर घरमा लगी नयाँ आगो भित्र्याउने चलन रहँदै आएको पुजारी दरैले बताउनुभयो ।

    यसरी लगिएको आगो तीन दिनसम्म मार्नुहुँदैन भन्ने चलन रहेको र तीन दिनसम्म दरै जातिभित्र लेनदेन चलेपनि अन्य जातिमा लेनदेन समेत नचल्ने प्रचलन कायमै छ । नदीको किनारामा बस्दै आएका दरैहरु प्रकृतिलाई पूजा गर्ने भएको कुरा आफूहरुले गर्ने पूजाबाट प्रष्ट हुने गरेको व्यास नगरपालिका–७ सिमलटारस्थित क्यामिन कालिका दरै समाजका अध्यक्ष शेरबहादुर दरैले बताउनुभयो । दरै जातिको मुख्य बसोबास तनहुँ, चितवन, नवलपरासी, गोरखा, धादिङ पर्सा, रुपन्देही लगायतका १३ जिल्लामा रहेको छ । विसं २०६८ को जनगणनाअनुसार तनहुँमा दरैहरुको जनसङ्ख्या दुई हजार ४९ रहेको छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस