• जीवनशैली | Jiwanshaili
  • असार १५ र दही चिउरा


    आज असार १५ धान रोपाइँको पर्व र राष्ट्रिय धान दिवस । मुलुकभर धान रोपाइँ गरी दही चिउरा खाने र हिलो खेली रमाउँदै रोपाइँ उत्सव गर्ने चलन छ ।

    कृषकहरुले काम गर्दै दही चिउरा खाएर मनाउने यो दिन गैर कृषकका लागि भने ‘खाने पर्व’का विकसित हुँदै गएको छ । सांस्कृतिक महत्व बोकेको दही चिउरा स्वास्थ्यका दृष्टिकोणले पनि त्यत्तिकै लाभदायि मानिन्छ ।

    दही–चिउरा

    चिउरा कार्बोहाइड्रेडको स्रोत हो । दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । यही कारण धेरै काम गर्ने दिन अर्थात् असार १५ मा दही चिउरा खाने प्रचलन चलेको हुनुपर्छ । असार १५ मा गर्मी पनि बढेको हुन्छ । गर्मीमा धान रोप्दा पसिनाको माध्यमबाट जाने शरीरको पानीलाई समेत यसले परिपूर्ति गर्ने भएकाले दहीचिउरा खाने चलन बसाएको हुनुपर्छ । दही चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि कामको चाप भएका बेलाको खाना वा खाजाका रुपमा यसलाई रोजिएको हुनुपर्छ ।

    असार १५ नै किन ?

    दहीचिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन । अरुबेला पनि दही चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं । जुन बेला पनि खान सकिन्छ । दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने ‘गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया’ समेत हुन्छ ।

    चिउरा

    चिउरामा कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ । धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाद्यपदार्थ नेपाली खाना चिउराको ठूलो महत्व छ । चिउरालाई चोखो खाद्यपदार्थका रुपमा पनि लिइन्छ । चिउरा नेवार समुदायममा विशेष रुपमा प्रयोग भएको पाइन्छ । चिउरा बनाउन ताइचिनको धान प्रयोग भएको त्यो उच्च कोटीको चिउरा हुन्छ भन्ने चलन छ ।

    तराइतिर बनाइने र पहाडी भेगमा बनाइने चिउरा केही फरक हुन्छ । तराइमा पनि चिउरा प्रसस्त प्रयोग हुन्छ ।

    दही

    हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं । यदि गुलियो बनाएर खाने हो भने पनि प्रकृतिक गुलियो सखर, खुदो मिसाइयो भने स्वास्थ्यका लागि अझ लाभदायी हुन्छ । हाम्रा विभिन्न पारम्परिक अचार अथवा तरकारीसँग दही चिउरा खादा अझ पूरक र पोषिलो हुन्छ ।

    दहीले चिसो लाग्ने भएकाले राति सुत्ने बेलामा खानु हुँदैन भन्ने मान्यता छ । तर, ठिक्कको तापक्रममा राखिएको दही जुन समयमा खाए पनि केही फरक नपर्ने पोषण विद्हरु बताउँछन् । दही फ्रिजबाट निकालिएको भएमा चाहिँ चिसो लाग्न सक्छ । तर दहीले कहिल्यै बिरामी पार्दैन, यदि कुनै हानिकारक किटाणुले यसमा प्रवेश पाएका छैनन् भने ।

    मधुमेह भएका बिरामीहरुले चिनी मिसाएको दही खानु हुँदैन । बजारको दहीमा मिठो बनाउन चिनी हाल्ने प्रचलन छ । त्यसैले सकेसम्म आफ्नो घरमा बनाएको दहीमा चिउरा मिसाएर खाँदा राम्रो । दैनिक खानामा एक कचौरा दही खाँदा स्वास्थ्यका हिसाबले राम्रो मान्न सकिन्छ ।

    दहीका फाइदा


    0
    दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ ।
    0 रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
    0 दही बनाउने ‘ल्याक्टोब्यासिलस ब्याक्टेरिया’ले पाचन प्रक्रियामा सहयोग पुग्छ ।
    0 दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ ।
    0 पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ ।
    0 दही शरीरमा लगाएर नुहाउँदा छाला कोमल र राम्रो हुन्छ ।
    0 रातमा निन्द्रा नलाग्ने समस्याबाट जोगिनका लागि पनि दहीको प्रयोग फाइदाजनक हुन्छ ।

    चिउराका फाइदा

    0 चिउरा पकाउनु नपर्ने भएकाले जुनसुकै परिकारका साथ खान सकिन्छ ।
    0 प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ ।
    0 फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस