• जीवनशैली | Jiwanshaili
  • साउने संक्रान्तिको महत्व – मेहेन्दीका फाइदा बेफाइदा


    आज साउने संक्रान्ति आजबाट श्रावण महिना शुरु भएको छ ।

    साउन सङक्रान्तिले धान रोप्ने समयको समाप्तिलाई जनाउछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको बताइन्छ । साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ ।

    यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ । मेहेन्दी लगाउने चलन पनि यसैबाट आएको होला भन्ने अनुमान गर्न सकिन्छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छन् । साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ ।

    यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्वका साथ मनाउँछन् ।

    महिलाहरुका लागि विशेष हुन्छ साउन महिना
    काठमान्डौ उपत्यका लगायत विभिन्न स्थानमा यो श्रावन महिना अत्यन्तै रमाइलो हुने गर्छ । सबै ठाँउका पसलहरु रंगीन चुरा, पोते लगायतले भरिन्छन् । महिलाहरु चुरा, पोते मेहेन्दी लगाएर आकर्षक भएर हिड्ने गर्छन् । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ । आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छयो महिनाभरि नै बिशेष गरी महिलाहरुले प्रत्येक सोमबार भगवान शिवको ब्रत बस्ने चलन छ किवंदन्ती अनुसार श्रीमानको आयु लम्बिने बिश्वासका साथ उनीहरु ब्रत बस्दछन् । रातो, हरियो र पहेलो तीन रंङमा चुरा पोतेहरु पाइन्छन् यी तीन रङहरुलाई श्रावनको रङ भनेर पनि भन्ने गरिन्छ ।

    फरक फरक रङका मेहेन्दीले मानिसहरुको सृजनालाई पनि प्रर्वद्धन गर्न मद्धत गरिरहेको हुन्छ । विवाहित महिलाहरुको परिवारको सुख तथा सम्बृद्धीका लागि हत्केलालाई मेहेन्दी लगाएर सुन्दर बनाउछन् र भगवानको प्राथना गर्छन् । अविवाहित महिलाले पनि आफ्नो खुशीका साथसाथै जीवन पनि मेहेन्दीको रङ जस्तै रङ्गीन तथा गहिरो होस् भन्दै प्राथना गर्ने गर्दछन् । तर यस वर्ष भने विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण बजारमा बिगत जस्तो चहल पहल देखिएको छैन

    साउनमा लगाईने मेहेन्दीको महत्व
    नेपाली परम्परा र संस्कृतिको एक महत्पूर्ण पाटो हो साउन महिना । साउन महिनाभर महिलाहरु सोमबारको ब्रत बसेर हरियो कपडा, चुरा, पोते र मेहेन्दी लगाउने गर्दछन् । हातमा मेहेन्दी लगाउनुलाई शुभ समेत मान्ने गरिन्छ । साउनभर महिलाहरु विभिन्न प्रकारका डिजाइन बनाएर हातमा मेहेन्दी सजाउने गरेको समेत पाइन्छ । हातमा मेहेन्दी कसैले रहरले लगाउने गर्छन् त केसैले परम्परागत हिसाबले लगाउने गर्छन् । जसले जसरी लगाएता पनि पछिल्लो समय मेहेन्दीलाई फेसनको रुपमासमेत लिन थालिएको छ ।

    साउनको महिनामा रोपाई वा खेतीपाती हुने भएकाले काममा जुट्नु पर्ने हुन्छ । खेतीपातीमा जुट्ने महिलाहरुको हात फुट्ने साथै चोटपटक लाग्दा हातमा मेहेन्दी लगाएको खण्डमा घाउ निको हुन्छ भन्ने मान्यता रहेको संस्कृतिविद् बताउँछन् । मेहेन्दीलाई परापूर्वकालमा औषधिको रुपमा प्रयोग गर्ने गरेको पाईएको छ । मेहेन्दीलाई परापूर्वकालमा औषधिको रुपमा प्रयोग गर्ने गरेको उनको भनाई रहेको छ ।

    महिलाहरु आफ्नो सुन्दरतामा ध्यान दिने गर्दछन् । जसका कारण खेतबारीमा काम गर्दा फुटेका हात छोप्न उनीहरुले मेहेन्दीको प्रयोग गर्ने गर्थे भने आजभोलीका महिलाहरुले आफ्नो हात सुन्दर देखाउन मेहेन्दीको प्रयोग गर्ने चलन चल्दै आएको हो । पहिला–पहिला प्राकृतिक मेहेन्दीको प्रयोग गर्ने गरेता पनि पछिल्लो समय भने केमिकलयुक्त मेहेन्दीको प्रयोग बढीरहेको चिकित्सकहरुको भनाई छ । मेहेन्दीको बोटको पातबाट बनाइएको मेहेन्दी प्राकृतिक हो भने बजारमा पाइने कोन, कलर, छापा जस्ता मेहेन्दी केमिकलयुक्त हुन् ।

    मेहेन्दीका फाईदा
    यो मौसममा कयौँ प्रकारका रोगहरु फैलने डर हुन्छ ।
    आयुर्वेदमा हरियो रंगले कयौँ रोगको रोकथाम हुने उल्लेख छ । मेहंदीको सुगन्ध र चिसोले तनाव कम गर्दछ । चिसोले अत्यधिक गर्मीलाई कम गर्दछ । हात र खुट्टाको पैतालामा मेहंदी लगाउँदा शरीरको गर्मी कम हुन्छ । मेहंदीमा कयौँ औषधीय गुण हुने गर्दछ । यसले शितलता, तनाव कम, शिरदर्द र रुघाखोकीमा राहत गराउँछ । मेहंदी लगाउँदा छाला सम्बन्धी धेरै रोगहरुबाट मुक्ति दिलाउँछ । साथै छाला पनि सुन्दर बनाउँछ ।

    मेहेन्दीका बेफाईदा
    १) मेहेन्दी प्राकृतिक अर्थात अर्गानिक र केमिकलयुक्त गरी दुई प्रकारका हुन्छन् । मेहेन्दीको बोटको पातबाट बनाइएको मेहेन्दी प्राकृतिक हो भने बजारमा पाइने कोन, कलर, छापा जस्ता मेहेन्दी केमिकलयुक्त हुन् । बजारमा पाइने यस्ता केमिकलयुक्त मेहेन्दीमा रङ्ग कडा बसाउनका लागि केमिकलको अत्यधिक प्रयोग गरिने त्यस्तो मेहेन्दीको प्रयोग गर्दा एक्जिमा कन्ट्याक्ट डर्मटाइटिस् र इरिटेन्ट कन्ट्याक्ट डर्मटाईटिस् गरी दुई प्रकारको एलर्जी हुन सक्दछ ।

    २) पहिला मेहेन्दी लगाउँदा एलर्जि भइसकेकालाई फेरी रियाक्सन हुने गर्छ भने इरिटेन्टमा पहिला सेन्सेटाइजेसन हुने गर्दछ जसमा पहिला एलर्जी छैन तर मेहेन्दी लगाउने वित्तिकै केमिकलको इरिटेसनले गर्दा हुने रियाक्सन हुन्छ ।

    ३) मेहेन्दीकै कारण अन्य विभिन्न समस्याहरु समेत उत्पन्न हुन सक्दछन् । यस्तो मेहेन्दी लगाउने महिलाहरुमा हात चिलाउने, रातो हुने, सुन्निने, पानी तर्रतर्र चुहिनेदेखि लिएर पहिला स्कार बनेर जीवनभर नै हातमा कालो दागहरु समेत बस्ने सम्भावना हुन्छ ।

    ४) कतिपय मेहेन्दीमा क्यान्सर बनाउने केमिकलको प्रयोग गरिएको समेत पाइएकोले त्यस्ता मेहेन्दी रगतमा छिरेर शरीरभर एलर्जि निस्किनुका साथै क्यान्सरको खतरा समेत हुने गर्दछ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस