इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा मात्र राख्ने सर्वोच्चको फैसलाको गरे विद्यार्थीहरुले विरोध
अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने सर्वोच्च अदालतको फैसला घोर निन्दनीय तथा आपत्तिजनक भएको भन्दै त्रिभुवन विश्व विद्यालय दर्शनशास्त्र (एमफिल) तहका विद्यार्थीहरुले विरोध जनाएका छन् । सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरकको भन्दै त्यस्तो कदम कदापि मान्य नहुने विद्यार्थीहरुद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘भाषा कुनै पनि जाति, समुदाय र सिङ्गो राष्ट्रको पहिचान हो । नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा र साझा सम्पर्क भाषा तथा भारत, भुटान र म्यान्माका केही भागमा मातृभाषाका रूपमा बोलिने भाषा हो । नेपाली भाषालाई विश्वभर झन्डै चार करोड मानिसहरूले मातृभाषाका रूपमा प्रयोग गर्छन् । भारत सरकारले समेत नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा सूचीकृत गरी भारतको एउटा मुख्य भाषाको मान्यता दिएको छ । यसरी नेपाली भाषा नेपालभित्र सरकारी कामकाजको भाषा तथा साझा सम्पर्क भाषाका रूपमा र नेपाल बाहिर जातीय एकताको सूत्र बनेको कुरा सर्वविदितै छ ।’
एमफिल विद्यार्थीहरुका तर्फबाट संयोजक बृषराज रेग्मीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय नेपाली भाषामाथि सरकारी निकायबाटै सुनियोजित ढङ्गले आक्रमण भइरहेको भन्दै त्यसप्रति आपूmहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति विद्यार्थीहरुले खेद प्रकट गर्दै घोर निन्दा एवम् भत्र्सना गरेका छन्।
नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुनेजस्ता निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत अदालतको फैसलाको विरोध गरिरहेका विद्यार्थीहरुको भनाइ छ ।
सर्वोच्चको यस्तो असंवैधानिक फैसला हामीलाई कदापि स्वीकार गर्न नसकिने पनि उनीहरुले जनाएका छन् ।
‘सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु घोर निन्दनीय तथा आपत्तिजनक छ र योे कदापि मान्य हुँदैन । यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन माग गर्दछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस