• जीवनशैली | Jiwanshaili
  • आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने


    ललितपुर- वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

    आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराए ।

    किंवदन्ती अनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको थियो ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस