विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदैं
काठमाडौं- कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।
आजकै दिन नेपालमा अमृत क्याम्पस(अस्कल)का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् । वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस