‘महामारीः के ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउला ?’
राष्ट्र सङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमो ‘महामारीः के ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउला ?’ भन्ने नारा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता‘ मातृदेवोभवः, पितृदेवोभवः’कोभावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको जनाउँदै राष्ट्रपतिले आआफ्ना स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गरेकी छिन् ।
परिवारको लालनपालनसहित जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रपतिले उनीहरुले जीवनभर सँगालेको अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास व्यक्त गरेकी छिन् ।
सन्देशमा भनिएको छ, “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि विक्रम संवत् २०५१ देखि शुरु गरिएको ज्येष्ठ नागरिक भत्ता यस सन्दर्भमा एउटा कोसेढुङ्गाका रूपमा रहेको छ, जसले आजसम्म निरन्तरता पाएको छ । सामाजिक सुरक्षाको दायरालाई क्रमशःफराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागु गरिएको छ । यी कदमहरूले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ भन्ने मेरो विश्वास रहेको छ ।”
ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान राष्ट्रपति भण्डारीले सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै उनीहरुको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गरेकी छिन् ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस