ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट
ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ ।
उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो । नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो रु २०५ रहेको उहाँको भनाइ छ । कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् । तयारी मासु प्रतिकिलो रु १७५ मा समेत बिक्री हुने गरेको छ ।
चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन् । पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताउनुभयो । देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रु ६५ तिरेका थिए । सरदर प्रतिकिलो रु ३० को दाना खुवाएको उहाँले जानकारी दिनुभयो ।
नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताउनुभयो । उत्पादन नै बढी हुँदा समस्या भएको उहाँको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उहाँले बताउनुभयो । पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उहाँको भनाइ छ ।
बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उहाँले बताउनुभयो । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिनुभयो । यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उहाँको भनाइ छ । पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उहाँको भनाइ छ । कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् ।
जसका कारण चल्लाको मूल्य प्रतिगोटा रु ६५ बाट घटेर रु २० देखि ३० मा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउछन् । नेपालमा झण्डै दुई महिनाअघि जिउँदो ब्वायलर कुखुराको प्रतिकिलो मूल्य रु २७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।
पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ । रु २१ प्रतिकिलोको मकै रु २८ र रु ६० को भटमास रु ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ ।
नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पु¥याउँदै आएको छ । यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस