कोरोनाको कहर : कार्यालयका सेवा प्रभावित हुँदै
पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम प्रभावित हुन थालेका छन् ।
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको सेवा बन्द गरिएको छ । बन्दाबन्दी खुलेसँगै सो कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको थियो । कोरोन सङ्क्रमणको जोखिम बढेपछि आगामी कात्तिक ३ गतेसम्म आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम बन्द गरिएको कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गर्नु्परेको थियो । यसैबीच सेती प्रादेशिक अस्पतालको कारोना प्रयोगशालामा कार्यरत एक महिला कर्मचारीमा समेत कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमित महिलाको स्वस्थ्य अवस्था समान्य रहेको र उहाँ आइसोलेसनमा बस्नुभएको अस्पतालले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार १२४ पुगेका छन् । पछिल्ला दिनमा प्रदेशमा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएका छन् । एक हप्ताअघि एक हजार ३५ सक्रिय सङ्क्रमित रहेकामा सोमबारसम्म यो सङ्ख्या एक हजार २११ पुगेका छन् ।
तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण भई होम आइसोलेसनमा बस्नेबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भइरहेको कमीकमजोरीका कारणले पनि सङ्क्रमण फैलिँदै गएको बताइएको छ ।
चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढ्ने देखिएको छ ।
कोरोना सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १०, अछाम, बझाङ र बाजुराका दुई÷दुई तथा कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक गरी १९ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस